पराल बोकेको ट्याक्टरमा आगलागी हुँदा एक जनाको मृत्यु

Avatar photo
Dhadingpost
कार्तिक १४, २०७५

नवलपरासी, कार्तिक १४ । नवलपरासीको कावासोतीमा पराल बोकेको ट्याक्टरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

ट्याक्टरले विद्युतको तार छिनाली सर्ट हुँदा आगो लागेको थियो । सोही क्रममा ट्याक्टरको पछाडि सवार दुई जनालाई करेन्ट लागेर घाइते भएका थिए ।

कावासोती नगरपालिका–११ तारे चोकमा कुडौलीबाट कावासोती आउँदै गरेको लु ३ त ३६३३ नम्बरको ट्याक्टरमा आगो लागेको हो ।

प्रहरी नायव निरीक्षक कृष्ण शाहाको नेतृत्वको प्रहरी टोली र कावासोतीबाट गएको दम्कलले आगो नियन्त्रणमा लिएको थियो ।

घाइते मध्ये कावासोती ११ बस्ने २० वर्षका सन्तोष रिजालको बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । सोही ठाउँका २२ वर्षीय सन्दीप रिजाल गम्भीर घाइते भएका छन् । रिजालको नयाँ मेकिडल कलेज भरतपुरमा उपचार भइरहेको छ ।