दैलेख, कार्तिक ८ । दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं.३ को भुवाटाकुरेमा बिहीबार राति ट्रयाक्टर दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु भएको छ ।
चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं. ६ स्थित पादुका खोलाबाट बालुवा लिएर चामुण्डा माध्यमिक विद्यालय जाँदै गर्दा भे १ त ३७४२ नम्बरको ट्रयाक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
ज्यान गुमाउनेमा चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं. ४ का २९ वर्षका चालक नरेश भन्ने नन्दबहादुर शाही र वडा नंं. ३ की १९ वर्षीया मनिषा शाहीको ज्यान गएको प्रहरीले बताएको छ ।
ट्याक्टर चालकको घटना स्थलमा र मनिषा शाहीलाई उपचारको लागि दुल्लू ल्याउदै गर्दा बाटोमा ज्यान गएको स्थानीय खगेन्द्रबहादुर थापाले बताउनुभयो ।
