होटल भन्दै नाइट क्लबमा पुर्‍याएर भारतीय पर्यटक लुटिए

Avatar photo
Dhadingpost
अशोज २९, २०७५

काठमाडौं, असोज २९ । सीमा क्षेत्रमा भारतीय नागरिकबाट नेपाली लुटिने गरेका विषय नौला होइनन् । तर, शनिबार राजधानी काठमाडौंमै भारतीय लुटिएका छन् ।

दशैंको विदामा पशुपतिनाथ लगायतका धार्मिक क्षेत्रको दर्शन गर्न आएको समूह लुटपाटमा परेको हो ।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले लुटपाटमा संलग्न नाइट स्टार क्लब एण्ड बारका चार युवती र तीन युवक गरी ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली, जिनखु–७ का २२ वर्षीया निर्मला तामाङ, उदयपुर, बाँसबोटेकी २० वर्षीया रुपा राई र सर्लाही, रानीगञ्ज–४ की १८ वर्षीया रोशनी तामाङ छन् ।

त्यस्तै, संखुवासभा, रामवेनी–७ का २३ वर्षीय ओम राई, ओखलढुंगा, लिखु–८ का २७ वर्षीय मेघबहादुर मगर र नुवाकोट विदुर नगरपालिकाका २५ वर्षीय विनोद अर्याल छन् ।

उनीहरुलाई पक्राउ गरेर विस्तृत अनुसन्धान थालिएको महाराजगञ्जका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षकले बताए ।