काठमाडौं, असोज १७ । समाजलाई नै अस्तव्यस्त बनाउनेगरी पछिल्लो समय सम्बन्ध विच्छेद गर्नेको संख्या दिनदिनै बढ्दै गएको छ ।
सामान्य घटनामा पनि सम्बन्ध विच्छेद फेसन र विकृतिकै रूपजस्तो बन्न पुगेको छ ।
सम्बन्ध विच्छेदबाट आफ्ना बालबच्चा तथा परिवार र समाजमा नकारात्मक असर पर्ने भए पनि धेरैले सामान्य विषयमा पनि सम्बन्ध विच्छेदलाई रोज्दा आगामी दिनमा त्यसले समाजलाई कहाँ पु¥याउँलारु सोचनीय विषय बन्दै गएको छ ।
काठमाडौं जिल्ला अदालतमा गत ३१ साउनमा एकै दिन २९ वटा मुद्दा पेसी चढेका थिए । अघिल्ला वर्षमा कुनै महिनाभरी सो संख्यामा पेसी चढ्ने गरेका थिए ।
३० साउनमा २१ वटा, २९ मा १९ वटा सम्बन्ध विच्छेदका पेसी चढेको पाइएको छ । साउन महिनामा साढे २ सय मुद्दाको पेसी चढेको छ ।
दिनमा दर्जनको संख्यामा सम्बन्ध विच्छेदका घटना काठमाडौं अदालतमा मात्र हुने गरेको अदालतले जनाएको छ । भदौमा भने सो संख्या केही घटे पनि असोजमा पुनः त्यो संख्यामा वृद्धि भएको पाइएको छ ।
काठमाडौं जिल्ला अदालतका अनुसार भदौमा सयको हाराहारीमा पेसी चढेकोमा १४–१९ असोजको पेसीमै ६६ वटा सम्बन्ध विच्छेदका मुद्दा चढेका छन् ।
काठमाडौं जिल्लामा मात्र नभएर पछिल्लो समय देशैभर सम्बन्ध विच्छेदका घटना बढेको हो । कास्की जिल्ला अदालतमा यस साता २० वटा मुद्दाको पेसी सम्बन्ध विच्छेदका छन् । भक्तपुरमा १० वटा परेका छन् भने ललितपुरमा भने सातवटा छन् ।
पूर्वन्यायाधीश केसी ह्विमको भरमा सम्बन्ध विच्छेद गर्दा त्यसको असर आफ्ना बच्चाबच्चीमा पर्ने भएकाले यसको रोकथाममा ध्यान दिनुपर्ने बताउँछन् ।
‘ह्विमको भरमा सम्बन्ध विच्छेद गर्नुहुँदैन, अदालतले पनि गोप्य कोठामा श्रीमान–श्रीमतीका कुरा सुनेर दबाब नदिई विच्छेदभन्दा पनि मिल्छ भने मिलाउनतिर जोड दिनुपर्छ, यसको असर आफ्ना बालबच्चामा पर्न दिनुहुँदैन,’ उनले भने।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलाराम केसीले मुलुकी संहितासँगै पश्चिमा संस्कृतिको प्रभावले पनि सम्बन्ध विच्छेदका घटना बढेको बताउँछन् ।
‘संहिताले महिला र पुरुषलाई समान अधिकार दिएको छ, अदालतमा सिँधै सम्बन्ध विच्छेद गर्न पाउने कानुन बनेपछि सानोतिनो कुरामा पनि अदालत पुगिहाल्ने चलन बढेजस्तो देखिएको छ,’ उनले भने ।
