महामन्त्री थपिएपछि नेवि संघमा भाँडभैलो

Avatar photo
Dhadingpost
अशोज १७, २०७५

काठमाडौं, असोज १७ । महाधिवेशनको तयारीमा जुटेको नेपाल विद्यार्थी संघमा महामन्त्रीसहित १५ केन्द्रीय सदस्य थपिएपछि नयाँ विवाद सुरु भएको छ ।

सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको निर्देशक समितिमा ३२ वर्षे उमेर हदबारे बहस भइरहेको थियो । पार्टी नेतृत्व विधानमा भएको यो व्यवस्था कार्यान्वयन गर्ने पक्षमा छ भने नेविसंघको नेतृत्वमा आउन चाहनेहरु विपक्षमा छन् ।

यही बेला विजयकुमार गच्छदार समूहका नाममा एक महामन्त्रीसहित १५ केन्द्रीय सदस्य थपिएका छन् । कमलेश्वर यादव महामन्त्री मनोनित भएका छन् ।

नेविसंघ अध्यक्ष नैनसिंह महरले भने, ‘कांग्रेससँग पार्टी एकीकरण गरेको फोरम लोकतान्त्रिकलाई पनि समायोजन गर्नुहोला भनेर पार्टीले पत्र पठाएको छ, त्यहीअनुसार मनोनित गरिएको छ ।

रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहका नेताहरु भने निर्देशक समितिमा समेत छलफल नै नगरी महामन्त्री र केन्द्रीय सदस्य थपिएको भन्दै रुष्ट बनेका छन् । संयोजक महत र सदस्य नविन्द्रराज जोशीबीच फोनमै बाझाबाझ समेत भएको स्रोतले बतायो ।

नेविसंघको वर्तमान नेतृत्वको दुई वर्षे कार्यकाल गत भदौ दुई गते नै पूरा भइसकेको छ । महाधिवेशन गर्न नसकेपछि कांग्रेसले बनाएको निर्देशक समितिले महाधिवेशन गर्ने कार्ययोजनासहित तीन महिना म्याद थप गर्ने निर्णय गरेको थियो ।

यसका बाबजुद विधानमा रहेको ३२ वर्षे उमेर हद कार्यान्वयन गर्ने–नगर्ने बहस भइरहेको छ । यही बेला महामन्त्री र केन्द्रीय सदस्य थप भएपछि महाधिवेशन नै नहुने सम्भावना बढेर गएको नेविसंघ महामन्त्री काफ्लेले बताए । ‘यसरी महाधिवेशन सुनिश्चित हुने दिशामा जाँदैन,’ काफ्लेले भने, ‘पार्टीको निर्देशक समिति स्वयम् पनि महाधिवेशनको पक्षमा जस्तो देखिँदैन ।

अहिले पछिल्लो पटक देखिएको विवादले महाधिवेशन सुनिश्चित हुने दिशामा नजाने देखिएको महामन्त्री कुन्दन काफ्ले बताउँछन् । उनले निर्देशक समिति नै महाधिवेशनको पक्षमा नरहेको आरोपसमेत लगाए ।

अन्धाधुन्द मनोनित गरिएको छ । नियम, कानुन, पद्दतीद्वारा गरिँदैन । नेविसंघलाई सीमित कोटरीमा राखेर चलाउने कोशिस भइरहेकाले त्यसविरुद्ध आफूहरुले आन्दोलन जारी राखेको काफ्लेले बताए ।

पौडेल समूहले भेला नै गरेर पार्टी नेतृत्वको यो कदम अस्वीकार गर्ने निर्णय गरेको छ । ‘नेविसंघमा यो प्रारम्भ मात्र हो । यसरी नै भोलि अरु संगठन र पार्टीमा पनि गच्छदार समूहका नाममा आफ्ना अनुकुलमा मानिसहरुलाई ल्याउने खेल भइरहेको छ,’ एक नेताले भने, ‘यो हामीलाई कुनै हालतमा स्वीकार्य छैन ।