कास्कीमा समिति र मजदूरबीच चार बुँदे सहमति

Avatar photo
Dhadingpost
अशोज १५, २०७५

कास्की, असोज १५ । अन्नपूर्ण तथा मनास्लु पदमार्ग क्षेत्रका समस्यालाई लिएर आन्दोलन घोषणा गरेका पर्यटन मजदूर र सरोकारवालाबीच आइतबार चार बुँदे सहमति भएको छ ।

पदयात्रामा जाने नेपाली पथप्रर्दशक र मजदूरलाई कास्कीको टाडापानी क्षेत्रमा पर्यटन व्यवस्थापन समिति तथा पर्यटन व्यवसायीले असोज १ गतेदेखि प्रवेशद्वारमा नै दुईदेखि सात दिनसम्मको खानाको अग्रिम पैसा तिरेर कुपन लिनुपर्ने बाध्यकारी व्यवस्था गरेपछि त्यसलाई फिर्ता लिन मजदूरले माग गरेका थिए।

मजदूरले असोज १५ सम्मको समयसीमा दिएर आफ्ना माग पूरा नभए त्यसलगत्तै पदयात्रामा कोही पनि मजदूर नजाने र टानलगायत पर्यटनसँग सम्बन्धित सङ्घसंस्थामा तालाबन्दी गर्ने कार्यक्रम घोषणा गरेका थिए ।

नेपालको पर्यटनको मुख्य सिजन शुरु हुनै लाग्दा पदयात्रा पर्यटन मजदूर आन्दोलनमा उत्रिएपछि समग्र पर्यटन क्षेत्रमा नकारात्मक सन्देश फैलने आशङ्का सर्वपक्षीय सहमतिले अन्त्य गरेको छ ।

त्यस्तै अन्नपूर्ण सर्किट पदयात्रा क्षेत्रमा देखिएको समस्याका सम्बन्धमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको मध्यस्ततामा यथाशीघ्र प्रयास गरी माघ मसान्तभित्र समाधान गर्ने, अन्नपूर्ण र मनास्लु क्षेत्रमा देखिएका समस्या पर्यटन मन्त्रालयको पहलमा समाधान गर्ने, युनिट्राभ गण्डकी प्रदेश र अखिल नेपाल पर्यटन मजदूर सङ्घले घोषणा गरेका सबै खालको आन्दोलनका कार्यक्रम फिर्ता लिने र सुरक्षित, मर्यादित र दिगो पर्यटनमा संयुक्तरुपमा काम गर्दै बढीभन्दा बढी पर्यटकलाई यो क्षेत्रमा भ्रमणको लागि स्वागत गर्ने सम्झौता भएको टान पोखराका अध्यक्ष हरि भुजेलले बताए ।

मजदूरले रोजेको खाना नपाएको र प्रवेशद्वारमा नै अनिवार्यरुपमा कुपन लिन बाध्य पारेर एकाधिकार लाँदिएको र खाने रुची नभए पनि पैसा तिर्नु पर्दा मजदूर मर्कामा परेकाले बाध्य भएर आन्दोलनको घोषणा गरेको अखिल नेपाल पर्यटन मजदूर सङ्घ कास्कीका अध्यक्ष धनबहादुर तामाङले बताए ।

मजदूरको अल्टिमेटमको अघिल्लो दिन गण्डकी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय, टाडापानी पर्यटन व्यवस्थापन समिति, टान पश्चिमाञ्चल क्षेत्रीय समिति, पर्यटन मजदूर सङ्गठन, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, पर्यटन प्रहरी र टाडापानी होटल व्यवस्थापन समितिका बीचमा सर्वपक्षीय छलफल भई चार बुँदे सहमति भएपछि मजदूरको घोषित आन्दोलनका कार्यक्रम माघसम्मको लागि स्थगित गरेको युनिट्राभ गण्डकीका अध्यक्ष विजय केसीले जानकारी दिए ।

सम्झौतामा हाल टाडापानी पर्यटन व्यवस्थापन समितिले मजदूरको खानाबापतको रकम अग्रिम उठाउँदै आएकोमा असोज २३ गतेबाट खानाको रकम सम्बन्धित होटल तथा लजको काउन्टरमा सोही छाकको खानाको मात्र रकम बुझाउने उल्लेख छ ।