नयाँ दिल्ली, असोज १३ । प्रेमलाई आ–आफ्नै तरिकाले परिभाषित गरिन्छ । ‘प्रेम अन्धो हुन्छ’, ‘प्रेम गर्नलाई उमेरले छेक्दैन,’ यावत भनाईहरु निकै चर्चित छन् प्रेमका सम्बन्धमा । यसकै उदाहरण बनेका छन् भारतको पंजाब राज्यका एक जोडी ।
अबोहर सहरका यो जोडी ७० वर्षीय अवकाशप्राप्त शिक्षक हुन् भने १९ वर्षीया छात्रा । १० दिनदेखि उनीहरु वेपत्ता भएपछि केटी पक्षको उजुरीका आधारमा प्रहरीले उनीहरुलाई दक्षिण भारतीय राज्य तमिलनाडुबाट पक्राउ गरी स्थानीय अदालतमा हाजिर गराइएको बताइएको छ ।
अदालतले आरोपित पूर्व शिक्षक जय किशन गौडलाई १४ दिनको न्यायिक हिरासतमा पठाएको छ । साथै ती छात्रालाई सेट प्रहरी हिरासतमा राखिएको बताइएको छ ।
एक वर्षअघि पनि जयकिशनलाई केटीका आफन्तले यही निहुँमा कुटीपीट गरेका थिए । तर उनी भने केटी बालिक हुने पर्खाइमा थिए । १२ वर्ष अगाडि सरकारी सेवाबाट निवृत्त भएका जयकिशन विद्यार्थीहरूलाई ट्युसन पढाउने गर्दथे । करिब चार वर्ष अघि उनले ती छात्रालाई घरमै ट्युसन पढाउन थालेको र त्यसै समयदेखि उनलाई आफ्नो प्रेम जालमा फसाएको हुन् सक्ने धेरैको भनाइ रहेको छ ।
घरकी एक्ली छोरी ती युवती र ७० वर्षीया वृद्धको प्रेम कहानी अहिले स्थानीय चियापसलहरूमा समेत चर्चाको विषय बनेको छ । हजुरबुवा भइसकेका जयकिशनकी पत्नीको भने धेरैपहिले नै मृत्यु भइसकेको छ ।
छात्राका परिवारले छात्रालाई फकाई–फुल्याई भगाएर लगेको भन्दै मुद्दा दायर गरेको हो । बिहीबार केटी र आरोपी शिक्षकलाई अदालत परिसरमा ल्याइरहँदा छात्राका आफन्तहरू समेत त्यहाँ उपस्थित थिए, तर केटीले आफन्तलाई नचिनेझै व्यवहार गरिन् । यसअघि बुधबार पनि केटीका परिवारले केटीलाई सम्झाउन खोज्दा उनी कुरै सुन्न नचाहेको केटीका परिवारले बताएको छ ।
