काठमाडौं, असोज ९ । कालीगण्डकी जलविद्युत आयोजनाको वृहत्त मर्मत सुरु भएको छ । ४८÷४८ मेगावाट तीनवटै युनिटको उत्पादन रोकेर मर्मत सुरु गरिएको हो ।
आइतबारबाट सुरु भएको मर्मतको कामको अवलोकन गर्न नेपाल विद्युत प्राधिकरणका सञ्चालकहरुसँगै कार्यकारी निर्देशक कुलमान घिसिङ आयोजनास्थलमै पुगेका छन् ।
१४४ मेगावाटको कालिगण्डकी आयोजनाको दुई वटा युनिट अबको दुई दिनपछि सञ्चालनमा आउनेछ । १ र ३ युनिटको मर्मत ५ दिनमै सकिने प्राधिकरणले जनाएको छ ।
युनिट २को भने मर्मत सक्न अरु २५ दिन लाग्नेछ । आयोजना निर्माणकै क्रममा युनिट २ मा गम्भीर त्रुटी भएको पाइएपछि यसपटक युनिट २को वृहत्त मर्मत सम्भार गर्न लागिएको घिसिङले बताए ।
युनिट २ को भल्भमा गम्भीर समस्या देखिएपछि यो जडान गर्ने जापानिज कम्पनी तोसिबाले निःशुल्क मर्मत् गर्ने प्रतिवद्धता जनाएको थियो ।
आगामी असोज १४ गते तोसिबासँगको सम्झौताको म्याद सकिने भएकाले त्यस अगावै युनिट २ को विशेष मर्मत थालिएको हो । अहिले प्रायः सबै आयोजनाबाट पूर्ण क्षमतामा बिजुली उत्पादन गर्न सकिने भएकाले कालिगण्डकीबाट उत्पादन रोकेर मर्मत थालिएको हो ।
युनिट २ को मर्मत सकिएपछि टनेलमा पानी भर्ने प्रयोजनका लागि थप ७ दिन आयोजना बन्द गरिनेछ । त्यसपछि आयोजनाले पहिलेकै अवस्थामा उत्पादन दिन थाल्नेछ ।
तीन वटै युनिट दशैंको समयमा बन्द गरिनेछ । त्यतिबेला औद्योगिक बिजुलीको खपत कम हुने भएकाले माग धान्न पनि सजिलो हुने अपेक्षा प्राधिकरणको छ ।
‘युनिट २मा देखिएको समस्या गम्भीर थियो । भल्बबाट पानी चुहिने समस्यालाई हामीले पेपर लगाएर टाल्दै थियौं । यसरी आयोजना चलाउँदा जतिबेला पनि गम्भीर दुर्घटनाको खतरा हुन्थ्यो,’ प्राधिकरणका एक अधिकारीले भने,’यसले आयोजना नै डुबानमा पार्ने सम्मको खतरा नम्तिन सक्थ्यो ।’
उनका अनुसार हिउँदामा कालीगण्डकी बन्द गर्नुपर्ने अवस्था आएर पोखरा र नारायणगढ पश्चिमका क्षेत्रमा १५ घण्टासम्म बिजुली काट्नुपर्ने अवस्था आउने भएकाले त्यस्तो हुन नदिन आयोजनामा मर्मत सम्भारको काम अघि बढाइएको बताए ।
ऊर्जा मन्त्रीले पनि यो समस्या आउन सक्ने भन्दै प्राधिकरणलाई सेचत गराएका थिए । मर्मतको कामको अवलोकन गर्न पुगेका घिसिङसहित सञ्चालकहरु चन्द्र टण्डन, उमेश थानी, चेतराज जोशी, भक्तबहादुर पुनले आयोजना बन्द हुँदा दैनिक साढे ३ करोड घाटा लागिरहेको भन्दै जतिसक्दो छिटो काम सकाउन निर्देशन दिए ।
