तरकारी किनेर आउँदा बाटो ढुकेर एसिड र छुरा प्रहार

Avatar photo
Dhadingpost
अशोज ९, २०७५

चितवन, असोज ९ । कावासोती नगरपालिका वडा नं. ९ डण्डा बजारकी २७ वर्षीया बसन्ती परियार माथि एसिड र छुरा प्रहार भएको छ ।

कावासोती नगरपालिका वडा नं. ९ डण्डा बजारकी २७ वर्षीया बसन्ती परियार भरतपुर अस्पतालमा मृत्युसँग लडिरहेकी छन् । उनको अवस्था गम्भिर रहेको चिकित्सक डा.सुरेश प्रधानले अनलाइनखबरलाई जानकारी दिए ।

देव्रे छातीमा प्रहार भएको चक्कु करङ छेडेर फोक्सोको नजिक पुगेको डा. प्रधानले बताए । अन्य स्थानको घाउ भन्दा यो गम्भिर हेको डा.प्रधानले जानकारी दिए । देव्रे तर्फको पेटमा छुरा प्रहार हुँदा सानो आन्द्रा बाहिर निस्किएको छ ।

बसन्तीमाथि एसिड प्रहार गर्ने विमल शिर्पालीलाई नवलपुर प्रहरीले पक्राउ गरेको छ । उनले प्रहरीसामू अपराध स्वीकार गरेका छन् । प्रारम्भीक बयान दिएका विमलले ‘पूर्वसहमति अनुसार काम नभएकाले’ एसिड प्रहार गरेको बताएका छन् ।

एसिड प्रहारबाट शरीरको करीव २५ प्रतिशत भाग जलेको छ । छुरा प्रहारबाट उनको शरीरमा गम्भीर चोट लागेको छ । उनको दायाँ गालाको हड्डी फुटेको छ ।

योजनाबद्ध रुपमा बसन्तीमाथि एसिड प्रहार गरेको देखिएको नवलपुरका प्रहरी प्रमुख रमेश थापाले जानकारी दिए । बिमलले तीजमा भारत जाँदा एसिड किनेर ल्याएका रहेछन् । लामो समयदेखि आफू बसन्तीसँग प्रेम सम्वन्धमा रहेको तर, विवाह गर्न नमान्दा आक्रमण गरेको बिमलको दाबी छ ।