सम्बन्धविच्छेद माग्नेमा महिलाभन्दा पुरुष बढी

Avatar photo
Dhadingpost
अशोज ८, २०७५

गुल्मी, असोज ८ । नयाँ मुलुकी ऐनको फाइदा उठाउँदै जिल्ला अदालतमा सम्बन्ध विच्छेद गर्न आउने महिला भन्दा बढी पुरुषको संख्या बढेको छ ।

नयाँ मुलुकी संहिता लागू भएको १५ दिनसम्म जिल्ला अदालत गुल्मीमा सम्बन्ध विच्छेद गर्ने महिला पुरुषको संख्या बराबर देखिएको थियो । तर, पछिल्लो १५ दिनमा महिलाभन्दा सात जना बढी पुरुषले सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत गुल्मीमा मुद्दा दर्ता गराएका छन् । ऐन लागू भएदेखि १ असोजसम्म ३३ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको नायब सुब्बा सीता घिमिरेले बताइन् ।त्यसमा १३ महिला र २० पुरुष रहेको समाचार आजको राजधानी दैनिकमा छ ।

एकै दिनमा तीन पुरुष अदालत – नयाँ मुलुकी ऐनमा पुरुषले पनि सम्बन्ध विच्छेद गर्न पाउने भएपछि जिल्ला अदालत गुल्मीमा एकै दिन तीन पुरुषले मुद्दा दर्ता गराएका छन् । ऐन लागू भएको एक सातापछि ७ भदौमा पहिलोपटक छत्रकोट गाउँपालिका–६ का लक्ष्मण ज्ञवाली, इस्मा गाउँपालिका–५ का शोभाखर पन्थ र रेनपा–४ का राजेन्द्रबहादुर खत्रीले एकै दिन श्रीमतीविरुद्ध सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरे । १३ भदौमा धुर्कोट गाउँपालिका–१ का बाबुराम थापा र रेसुंगा नगरपालिका–१३ का हरिबहादुर खत्रीले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरे । जिल्ला अदालत गुल्मीमा नयाँ मुलुकी ऐन लागू भएकै दिन १ भदौमा एक महिलाले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएकी थिइन् ।

सामाजिक सञ्जाल र वैदेशिक रोजगार प्रमुख समस्या – जिल्ला अदालतमा दर्ता भएका सम्बन्ध विच्छेदका मुद्दाको प्रकृति हेर्दा प्रमुख कारण वैदेशिक रोजगारपछिको पारिवारिक विचलन रहेको छ । महिलाहरुले दर्ता गरेका मुद्दामा खान–लगाउन नदिएको, गालीगलौज गर्ने, कुटपिट गरेको, पारिवारिक संरक्षण नभएकोलगायतका छन् । पुरुषले भने श्रीमतीले घर व्यवहार चलाउन नसकेको, पैसा हिनामिना गरेको, परपुरुषसँग सम्बन्ध राखेको र अनावश्यक मानसिक तनाव दिएकोलगायतका कारण देखाउँदै सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा दर्ता गराएको श्रेस्तेदार दुर्गाप्रसाद बस्यालले बताए । यसअघिका समग्र सम्बन्ध विच्छेदका कारण भने पति विदेशमा, पत्नी अर्कैसँग हिँड्ने, कम उमेरमा विवाह, मदिरा सेवन, सामाजिक सञ्जालको दुरुपयोगलगायत रहेका छन् ।