कर्जाको ब्याजदर ११ प्रतिशतमा झ¥यो

Avatar photo
Dhadingpost
अशोज ७, २०७५

काठमाडौं, असोज ७ । बैंकहरुले धमाधम व्याजदर घटाउन थालेका छन् । हाल कर्जाको ब्याजदर घटेर ११ प्रतिशतसम्म आइसकेको बैंकर एशोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बताए ।

साउन महिनादेखि नै बैंकहरुले ब्याजदर घटाउन शुरु गरिसकेका हुन्’ उनले भने, ‘यतिबेला क्रमशः ब्याजदर घटिरहेको छ ।’ हाल कर्जाको ब्याजदर ११ देखि १२ प्रतिशतमा रहेको उनले बताए ।

ब्याजदर घट्ने क्रम नयाँ आर्थिक वर्षदेखि नै शुरु भइसकेको भन्दै अध्यक्ष ढुंगानाले क्रमशः ब्याजदर घटिरहेको दाबी गरे ।

मौद्रिक नीतिका केही नयाँ व्यवस्थाका कारण व्याजदर घट्ने दावी गरिए पनि बैंकहरुले ब्याजदर नघटाएको भन्दै निजी क्षेत्रले असन्तुष्टि जनाउदै आएको थियो ।

दशैंपछि व्यवसायीलाई सहज हुने

दशैंपछि भने कर्जा लिने व्यवसायीहरुलाई सहज हुने ढुंगानको भनाइ छ ।

नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका अध्यक्ष ढुंगाना भन्छन्, ‘ब्याजदर बेस रेटको आधारमा तय हुने हुँदा अब असोज महिनासम्मको बेस रेट आए पछि ब्याजदर कायम हुन्छ ।’

यसअघि बैंकको व्याजदर १६ प्रतिशत भन्दा बढी पुगेको थियो । लगानी योग्य पुँजीको अभाव भएको भन्दै बैंकहरुले आकर्षक ब्याज दिएर निक्षेप लिएका थिए ।

बैंकहरुले निक्षेपमै ११ प्रतिशतसम्म ब्याज दिए पछि कर्जाको ब्याज १६ प्रतिशत भन्दा बढी पुगेको थियो ।

यतिबेला भने बैंकहरुमा लगानी योग्य पुँजीको अभाव नरहेको बैंकहरु बताउँछन् ।

उनले दशैं पछि भने अझै ब्याजदर घट्नेसमेत बताए । पहिलो त्रैमास (साउन, भदौ र असोज) को रिपोर्टमा नयाँ बेस रेट आउने र त्यो बेस रेटपछि बैंकहरुको ब्याजदर घट्ने उनले बताए ।

मौद्रिक नीतिले कर्जा र निक्षेपबीचको ब्याजदरको अन्तर (स्प्रेड दर) ४.५ मा तोकिएको छ । यसअघि ५ प्रतिशत रहेको स्प्रेड दर ४.५ मा झरेका कारण कर्जाको ब्याजदरसमेत घट्नेछ । स्प्रेड दर घटाएको प्रभाव ब्याजदरमा देखिन शुरु गरिसकेको बैंकरहरु बताउँछन् ।