जलेश्वर कारागारका कैदीको उपचारका क्रममा मृत्यु

Avatar photo
Dhadingpost
अशोज ४, २०७५

महोत्तरी, असोज ४ । जिल्लाको जलेश्वर कारागारका एक बन्दीको उपाचार गर्ने क्रममा गएराति मृत्यु भएको छ ।

महोत्तरीको गौशाला नगरपालिका–१२, लक्ष्मीनियाँ का ४० वर्षीया रामनरेश शर्माको उपचारका क्रममा मृत्यु भएको हो ।

हिजो बेलुका एपेन्डिसाइट्सका कारण पेट बेस्सरी दुखेपछि उनलाई जलेश्वरस्थित शान्ति सामुदायिक अस्पतालमा उपचारका लागि लगिएकामा राति ९ बजे उपचारकै क्रममा मृत्यु भएको उनको भनाइ छ ।

महोत्तरी जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दाअन्तर्गत ०७४ साउन १६ गते उनलाई पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाएकोमा उनी सोही बेलादेखि बन्दी जीवन बिताउँदै आएका थिए ।

कारागार प्रमुख शोभेन्द्र ठाकुरले ०७४ साउन १६ देखि उक्त कारागारमा बन्दी जीवन बिताउँदै आएका शर्माको गएराति उपचारका क्रममा मृत्यु भएको पुष्टि गरे ।