एकता नहुँदै माओवादी केन्द्र धादिङको कार्यालय दर्दनाक

Avatar photo
Dhadingpost
भदौ २५, २०७५

धादिङ । नेकपा एमाले र माओवादी केन्द्र पुनरगठन भएर बनेको नेकपाको जिल्ला स्तरमा एकता हुन सकिरहेको छैन । एकता हुनुपूर्व नै माओवादी केन्द्र धादिङको जिल्ला कार्यालय दर्दनाक अवस्थामा पुगेको छ ।

विगत एक वर्ष पहिला अव्यवस्थित माओवादी केन्द्रको जिल्ला कार्यालयलाई व्यवस्थित र सहज बनाउन भन्दै जिल्ला अध्यक्ष शालिकराम जमकट्टेलले सुगमटोलबाट पुछारबजार सारेका थिए । तर पुछारबजारमा पनि कार्यालय, कार्यलय जस्तो नभएर पानी पर्दा बस्न नसक्ने अवस्थामा पुग्यो । कार्यालयमा जनसम्पर्क न्यून हुने गरेपछि र जिल्ला अध्यक्ष कै निर्देशन बमोजिम जिल्ला सचिव दलबहादुर बुर्लाकोटी (विजय) ले सहिद स्मृती संचार सहकारीद्वारा निर्मित रेडियो बिहानीको भवनमा कार्यालयको सामान स्टोर गरेका थिए ।

रेडियो बिहानीको भवनमा कार्यालय राख्ने गरि कुनै सम्झौता भएको नदेखिए पनि सामान राखेर फर्केका जिल्ला सचिव बुर्लाकोटी अफिसको सामान मिलाउन पुन गएनन् ।

अफिस सार्दा दराजमा राखिएको महत्वपूर्ण समानहरु कोठाको भुँईमा नै यत्र तत्र छरिए, कोठामा रहेका सामान पानीले भिज्दा नस्ट हुने स्थितिमा पुगेको छ ।

जिल्ला कार्यालयमा रहने अध्यक्ष देखि कोषाध्यक्ष सम्मले मासिक १० हजार बुझ्ने निर्णय गरेको माओवादी केन्द्रले कार्यालयको जिम्मेवारी लिएका जिल्ला सचिव विजय बुर्लाकोटीको लापर्वाहीले गर्दा सामाग्री नस्ट भएको ब्रान्डेट कम्प्यूटर, दुई सेट फोटोकपी मेशिन लगायतका महत्वपूर्ण सामान हराएको बताइएको छ ।

पार्टी कार्यालय सरेको भन्ने सुनेर रेडियो बिहानी रहको भवनमा पुग्दा न बोर्ड, न कार्यालय, कार्यालय जस्तो अस्थामा थियो अझ कोठा भित्रको स्थिति देखेर आँशु आयो, एक एक कागज पत्र टिपेर सुकाएँ, तर काम लाग्ने अवस्थामा थिएनन् जिल्लाको दस्तावेज नै नस्ट हुने गरि सामानहरु कुहिएको जिल्ला उपाध्यक्ष रामबहादुर भण्डारीले बताए ।

न कार्यालय पुछार बजार सार्दा सल्लाह गरियो न, पुछाबजारबाट रेडियो बिहानीको घरमा सार्दा सोधियो, नीति विधिमा नचल्दा यस्तो भएको हो यो चान चुने विषय हैन कार्यालयको सम्पत्ती एक एक खोजिन्छ नियत जन्य बदमासी पाईए कोहि कसैलाई छुट हुँदैन उपाध्यक्ष भण्डारीले भने ।

कार्यालयमा रहेको पानीले भिजेर कुहिएको सामाग्री फेसबुकमा फोटो पोष्ट गर्दै अखिल क्रान्तिकारी धादिङका अध्यक्ष माधव छत्कुली लेख्छन्– हजारौं कमरेडहरुको बलिदानी, सयौं बेपत्ता कमरेडहरुको त्याग र हजारौं नेता र कार्यकर्ताहरुको समर्पणबाट निर्मित माओवादी केन्द्र धादिङको महत्वपुर्ण सम्पत्ति बजारका कयौं घरका कोठाहरु चहार्दै अन्ततः यो हालतमा भेट्टियो ।