दुर्घटनामा दुईको मृत्यु

Avatar photo
Dhadingpost
भदौ १५, २०७५

झापा, भदौ १५ । झापाका दुई भिन्न स्थानमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

झापाको बिर्तामोड नगरपालिका–२ रामचोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक र भद्रपुर नगरपालिका–२ स्थित बिगाउँमा मोटरसाइकलले पैदलयात्रीलाई टक्कर दिँदा एकजनाको मृत्यु भएको हो ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड–२ रामचोकमा ना४ख ४६५६ नंको ट्रकले मे ५ प १८१८ नंको मोटरसाइकललाई बिहीबार बेलुका ठक्कर दिँदा मोटरसाइकलमा सवार इलाम देउमाई नगरपालिका–८ समीर खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा सोही नगरपालिका–९ का मोटरसाइकल चालक २१ वर्षीय निर्मल कट्टेल घाइते भएका छन् ।

त्यसैगरी झापा भद्रपुर–२ बिगाउँस्थित भित्री सडकखण्डमा मे २ प ५६२ नंको मोटरसाइकलले बिहीबार ठक्कर दिँदा सोही स्थानकी ७५ वर्षीया फुलमाया तामाङको मृत्यु भएको छ ।