एजेन्सी, भदौ १५ । १५ वर्ष पहिले भएको घोटालामा एक सरकारी कर्मचारीलाई अदालतले सजाय सुनाउनासाथ ती आरोपी कर्मचारी बेहोस भएका छन् ।
आरोपीलाई अदालतले ७ वर्षको जेल सजाय सुनाएको थियो । भारतको भोपाल नगर निगमका १५ वर्ष पहिले भएको घोटालाको फैसला गरेको थियो । ती कर्मचारीमाथि १ लाख ४४ हजार रुपैयाँ सरकारी पैसा हिनामिना गरेको आरोप लागेको थियो ।
हिजो बिहीबार न्यायाधीश राकेश कुमार शर्माले स्टेनो टाइपिस्ट अनिश सक्सेनालाई ७ वर्ष जेल र १ लाख ४० हजार जरिवानाको सजाय सुनाए । अदालतले सजाय सुनाउनासाथ कठघरामा उभिएका अनिश बेहोस भए । अदालतका कर्मचारीले उनलाई बेन्चमा सुताए । तत्काल अदालतमा एम्बुलेन्स पुग्यो । एम्बुलेन्ससँगै आएका डाक्टरले अनिशको अवस्था स्थिर भएको बताए ।
सरकारी वकिल मञ्जु जैनका अनुसार अनिशले २००३ र २००४ को बीचमा नगरपालिकाले भाडामा लगाएका कम्प्लेक्सको भाडा उठाएर १ लाख ४४ हजार नगर निगमको खातामा जम्मा नगरी आफैं लिएका थिए ।
