हलिउड नायिक अर्जेन्टोमाथि १७ बर्षे ठिटोमाथि यौन दुर्व्यवहार गरेको आरोप

Avatar photo
Dhadingpost
भदौ ५, २०७५

बीबीसी, भदौ ५ । यौन दुर्व्यवहार तथा लैङ्गिक विभेदविरुद्ध सञ्चालित मि टू अभियानकी अग्रणी व्यक्तित्वमाथि नै यौन दुर्व्यवहारको आरोप लागेको छ ।

गतवर्ष बरिष्ठ हलिवूड चलचित्र निर्माता हार्भी वाइन्स्टिनमाथि यौन दुर्व्यवहारको आरोप लगाउने अग्र पंक्तिमा इटालेली नायिका आजिया अर्जेन्टो पनि एक थिइन् ।

नायिका आजिया अर्जेन्टोले आफ्ना पूर्व सहकर्मीलाई ३ लाख ८० हजार अमेरिकी डलर तिरेकी थिइन् । पूर्व सहकर्मी जिम्मी बेनेटले क्यालिफोर्निया होटलको एक कोठामा आजिया अर्जेन्टोले आफूमाथि सन २०१३ मा यौन दुर्व्यवहार गरेको आरोप लगाएका थिए ।

नायिका अर्जेन्टोका वकिलले आरोपबारे प्रतिक्रिया दिन अस्वीकार गरेका छन् । आरोपी जिम्मी बेनेट घटना हुँदा जम्मा १७ वर्षका थिए जबकी क्लालिफोर्नियामा आपसी सहमतिमा यौन सम्पर्क गर्न सकिने उमेर १८ तोकिएको छ । घटनाका बेला नायिका अर्जेन्टो ३७ वर्षकी हुनुपर्ने बताइएको छ ।

न्यू योर्क टाइम्सको समाचारमा भनिएको छ, कानुनी पुर्जामा बेनेटले उक्त घटनापछि आफू आहत भएको र आफ्नो मानसिक स्वास्थ्य एवं काममा समस्या उत्पन्न भएको उल्लेख गरेका छन्। उनले सन २००४को एउटा सिनेमामा अर्जेन्टोको सानो छोराको भूमिका खेलेका थिए ।

नायिका अर्जेन्टोका वकिलले बेनेटलाई सहयोग स्वरुप त्यो रकम उपलब्ध गराइएको र त्यसैका आधारमा नायिकालाई शिकार बनाइएको बताएका छन् । भ्यानिटी फेयरले प्रकाशित गरेको एक विज्ञप्तीमा बेनेटका वकिलले बेनेटले तत्काल प्रतिक्रिया नदिने “तर आगामी २४ घण्टा वा त्यो भन्दा बढि समय लिएर केही प्रतिक्रिया दिने” बताएका छन् ।

हार्भी वाइन्स्टिनका वकिलले पछिल्लो घटनाक्रमले “आजिया अर्जेन्टोको आश्चर्यचकित बनाइदिने खालको पाखण्ड” उजागर भएको टिप्पणी गरेका छन् ।