काठमाडौँ, साउन २९ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज घोषणा गरेको बन्दको प्रभाव राजधानीमा सामान्य देखिएको छ ।
केही निजी विद्यालय तथा कलेजहरू बन्द भए पनि सवारीसाधन, बजार, उद्योगधन्दाहरू खुलेका छन् । राजधानीको शान्ति सुरक्षाको व्यवस्था चुस्त बनाइएको प्रहरीले जनाएको छ ।
काठमाडौँको सुन्दरीजल, नगाढुङगा लगायत तीन स्थानमा राखिएको बम सुरक्षाकर्मीले डिस्पोज गरेको छ ।
पूर्वमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पक्राउ परेको विरोधमा पार्टीले आज देशभर बन्द आह्वान गरेको हो ।
बन्द गराउँदै हिँडेका दुई जना नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । जमलबाट दुई जनालाई बमसहित नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी विश्वराज पोखरेलले बताए ।
