पहिरोले रसुवागढी भन्सार ठप्प

Avatar photo
Dhadingpost
साउन १७, २०७५

रसुवा, साउन १७ । पहिरोले अवरुद्ध सडक स्थानीय प्रशासनले पन्छाए पनि टिमुरे गाउँमाथिको घट्टेखोलामा निर्मित पुल जोखिमपूर्ण भएपछि सवारी साधन आवत जावत ठप्प भएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलकाअनुसार जोखिम न्यूनीकरण गर्न सवारीसाधनमा रोक लगाई प्राविधिकद्वारा अध्ययन कार्य शुरु गरिएको छ । एक सातादेखि बढेको वर्षाले घट्टेखोलामा पानीको बहाव बढेपछि दक्षिणतर्फको पुलको जगमा क्षति पु¥याएको स्थानीयवासी सूर्य घलेले बताए ।

चीन सरकारद्वारा निर्माण गरिएको उक्त पुल क्षतिको स्थानमा सडक विभागका प्रतिनिधिले जगको गहिराइ कति छ चिनियाँ प्राविधिकसँग पनि समन्वय गरी पाँच दिनभित्र गल्छी रसुवागढी राजमार्गको सिधा यातायात सञ्चालन गर्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक दिलीप क्षेत्रीकाअनुसार टिमुरे रसुवागढी, घट्टेखोला राजमार्गको घट्टेखोलामा रहेको पक्की पुलको केही अंश बाढीेले बगाएपछि पूलको जोखिम बढेको छ । प्राविधिकहरुको परामर्शमा जोखिम न्यूनीकरण गर्न मालबाहक ठूला सवारी साधन सो पुलबाट आवात जावतमा रोक लगाइएको छ । सो पुलबाट हल्का सवारी साधनमात्र सुचारु छन् ।

त्यसैगरी पहिरोमा परी मृत्यु हुनेको दाहसंस्कारका लागि नौजनाको शव आफन्तजनलाई हस्तान्तरण गर्ने काम भएको जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङले बताए । दशैंको सामान लिन ब्यापारीहरु चीन गएकोले केही दिनमा पुल बन्ने र त्यसको असर नदेखिने रसुवागढी भन्सार प्रमुख अधिकृत विष्णु कोइरालाले बताए ।