नुवाकोट, साउन ३ । अविरल वर्षाका कारण सूर्यगढी गाउँपालिका–३ चोकदेमा पहिरोले घर पुर्दा चार जना घाइते भएको छ ।
घाइतेहरूलाई स्थानीय प्रहरीले उद्धार गरेर विदुरको सिटी अस्पतालमा उपचारका लागि लगेकामा अहिले उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । घरमा किराना पसल र घरसँगै रहेको गोठमा १३ वटा बाख्रा, कुखुरा मर्नुका साथै घरभित्र रहेको सरसामग्री नष्ट भएको छ । प्रहरीले रु ६० लाख बराबरको क्षति भएको अनुमान गरेको छ ।
अविरल वर्षाका कारण आज बिहान ४ बजे घरमाथिबाट आएको पहिरोले नवराज श्रेष्ठकोे दुईतले कच्ची घर भत्काउँदा ५० वर्षीय निजका साथै उनकी श्रीमती ४६ वर्षीया निरु, छोरी २२ वर्षीया निशा र १८ वर्षीय छोरा विकास घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिनुभयो ।
