पोखरा, शसार २८ । टुडेज ब्रान्डको जारको पानीमा कोलिर्फमको मात्रा देखिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा सिलबन्दी गरिएको छ ।
कोलिर्फम बाहिरी वातावरणमा रहेको पानी, मानिस वा तातो रगत भएका जनावरका दिसामा पाइन्छ । यो १ दर्जनभन्दा बढी ब्याक्टेरियाको समूह हो । यदि कुनै पानीमा कोलिर्फम भेटिए, त्यसमा ढलको पानी मिसिएको भनेर बुझ्न सकिन्छ । प्राविधिकका अनुसार कोलिर्फमको मात्रा जति बढी हुन्छ स्वास्थका लागि उति जोखिम रहन्छ ।
फोहोर पानी बजारमा पठाएको सीएम अक्वा वेभरेज कम्पनीको टुडेज पानीको उत्पादनस्थलमा जिल्ला प्रशासनको टोलीले सिलबन्दी गरेको छ ।
पाँच वटा कम्पनीको पानीको नमूना संकलन गरी प्रशासनको टोलीले अनुगमन तथा सुपरिवेक्षण कार्यालयमा पठाएको थियो ।
उक्त कार्यालय मातहतको प्रयोगशालामा असार २२ मा परीक्षण गर्दा टुडेज ब्रान्डको पानीको १९ लिटरको जारमा कोलिर्फमको मात्रा २७ भेटिएको थियो । उक्त ब्रान्डको १ लिटर बोटलको पानी कोलिर्फमको मात्रा नभेटिएको प्रयोगशालाले जनाएको छ ।
सहायक सीडीओद्वय गंगाबहादुर क्षेत्री, राजेश पन्थी, डीएसपी रवीन्द्रमान गुरुङ, उपभोक्ता मञ्च प्रदेश अध्यक्ष कपिलनाथ कोइरालासहितको टोलीले कम्पनीको जारतर्फको प्लान्टमा सिलबन्दी गरेर सञ्चालकसँग बयानसमेत लिएको छ ।
सीएम अक्वाका प्रबन्ध निर्देशक कपिलकिरण श्रेष्ठ बुधबारै प्रहरीमा हाजिर भएर बयान दिएका छन् ।
यो विषयमा प्रहरीले अनुसन्धान थालिसकेको र आवश्यक प्रमाण जुटाएर मुद्दा प्रक्रिया अघि बढाइने डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए ।
