धादिङवेसीका निर्माण सामाग्री पसल अनुगमन

Avatar photo
Dhadingpost
असार २६, २०७५

धादिङ असार २६ । धादिङवेसीका निर्माणमा सामाग्रीका पसल मंगलबार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय धादिङको नेतृत्वमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको भुकम्प पछिको पुनर्निर्माण र पुनस्थापना कार्यक्रम (आईपिइआरआर) अन्तर्गत निर्माण सामाग्रीका पसल अनुगमन गरिएको हो ।

धादिङका सहायक प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालको नेतृत्वमा भएको अनुगमनका क्रममा सदरमुकाम क्षेत्रका ८ वटा निर्माण समाग्री विक्री वितरण गर्ने पसल हेरिएको थियो । सो क्रममा पसलको दर्ता प्रमाणपत्र, नविकरण, निर्माण सामाग्रीको खरिद तथा विक्री मुल्य विवरण लगायत निर्माण सामाग्रीको अवस्था हेरिएको थियो ।

अनुगमनका क्रममा आवश्यक कागजात नदेखाए पछि पुछारबजारको एउटा हार्डवयर पसल बन्द गर्न लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले बताए । यसै क्रममा सबै पसलमा मुल्य सूचिन भेटिए पछि मुल्य सूचि राख्न पसलका आवश्यक कागज पत्र, दर्ता, नविकरण, विल भरपाई सबै सुरक्षित राख्न पनि आग्रह गरिएको थियो ।

भुकम्प प्रभावित नागरिकहरुले पुनर्निर्माणका क्रममा निर्माण सामाग्री माचर्को मुल्य तिर्नुपरेको भन्ने गुनासो बढेपछि स्थानीय प्रशासनको सहयोगमा निर्माण सामाग्रीका पसलको अनुगमन गरिएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको भुकम्प पछिको पुननिर्माणमा सदाचार कार्यक्रमका जिल्ला अधिकृत सानुबाबु तिमिल्सिनाले बताए ।

अनुगमनका क्रममा सहायक प्रमुख जिल्ला अधिकारी धोलकराज ढकाल, प्रहरी नायवउपरिक्षक रामबहादुर केसी, उपभोक्ता हिंत संरक्षण मञ्चका जिल्ला संयोजक बेदबहहादुर खाँण, धादिङ उद्योग बाणिज्य संघका उपाध्यक्ष दिनेश अधिकारी, धादिङ निर्माण सामाग्री व्यवसायी संघका अध्यक्ष् ध्रुर्वबहादुर थापा, स्थानीय संघ संस्थाका प्रतिनिधि तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।