प्रधानमन्त्रीका पछिपछि किन दौडिरहेको छ ‘अधिनायकवाद’ ?

Avatar photo
Dhadingpost
असार २१, २०७५

काठमाडौँ, असार २० । “कतिपय मान्छेको थेगो हुन्छ ‘चाइनेकेरे, माने’ ‘चाइनेकेरे माने’ । अधिनायकवाद आउँछ भन्ने कुरा पनि ‘चाइनेकेरे माने’ भयो । अचम्मकै ‘चाइनेकेरे माने’ भयो ।”

प्रधानमन्त्री केपी ओलीले संसदमा ‘अधिनायकवाद’को प्रश्नमाथि दिएको यो पहिलो जवाफ होइन र सम्भवतः अन्तिम पनि हुने छैन । किनभने प्रमुख प्रतिपक्ष दल काङ्ग्रेसले संसदमै धेरै पटक देश ‘अधिनायकवाद’ उन्मुख भएको मुद्दा उठाइरहेको छ र हरेक पटक संसदमा प्रधानमन्त्री ओलीले त्यसमाथि आफ्नो जवाफ दिने गरेका छन् । भविष्यमा पनि काङ्ग्रेसले ‘अधिनायकवाद’को मुद्दा उचाल्न छाड्ने छैन र प्रधानमन्त्री ओलीले जवाफ दिइरहने छन् ।

विपक्षी दल काङ्ग्रेसका सांसदले सरकार ‘अधिनायकवाद’ उन्मुख भएको प्रश्न उठाएपछि त्यसको जवाफमा प्रधानमन्त्री केपी ओलीले लोकतन्त्रको अभ्यास गर्ने थलो संसदमा दिएको अभिव्यक्ति हो ।

प्रधानमन्त्री ओलीमाथि सिंहदरबारको अधिकार प्रधानमन्त्री कार्यालयमा केन्द्रित गरेको, ‘अधिनायकवाद’ उन्मुख गतिविधि गरेको मात्र नभई राजा गए पनि महाराजा जन्मिएका सम्मका आरोप लाग्ने गरेका छन् ।

काङ्ग्रेस सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले असार १५ गते संसदमा भनेका थिए, “म आश्वस्त हुन आग्रह गर्छु । लोकतन्त्रप्रति हामी पूर्ण प्रतिबद्ध छौँ । कसैले किस्तीमा ल्याएर दिएको लोकतन्त्र उपभोग गरेको होइन । हामी सबैको पसिनाले, बलिदानले ल्याएको हो । अनि हामी आफैँमाथि शङ्का आशावादी हुनुपर्ने बेला लोकतन्त्र त फेरि जान्छ क्यार भन्नु उपयुक्त होइन । लोकतन्त्र कहाँ जान्छ लोकतन्त्र गएपछि के आउँछ कहाँबाट आउँछ केटाकेटीलाई हाउगुजी देखाएजस्तो लोकतन्त्र जान्छ ।