स्थानीय तहले बजेट नदिएपछि दार्चुला अस्पताल आर्थिक संकटमा

Avatar photo
Dhadingpost
असार १८, २०७५

दार्चुला, असार १८ । विगतमा जिल्ला अस्पताललाई केन्द्रबाट आउने बजेट यस वर्ष थोरै आउनु र यहाँका स्थानीय तहले आवश्यक बजेट नदिँदा जिल्ला अस्पताल बजेट अभावमा दयनीय बनेको छ ।

जिल्ला अस्पताललाई गत वर्षको भदौदेखि हालसम्म केन्द्र तहदेखि स्थानीय तहबाट खासै सहयोग नभएको प्रमुख डा शाहले बताए। यस वर्ष जनस्वास्थ्यलाई आएको रु २५ लाखको बजेटबाट औषधि खरिद गरेर जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा वितरण गरिएको उनको भनाइ छ ।

अस्पताल दयनीय बनेको अवस्था प्रदेश सरकारलाई अवगत गराएपछि रु तीन लाख मात्रै उपलब्ध गराउने भनी जानकारी आएको प्रमुख डा शाहले बताए । त्यो पनि उपकरण खरिदका लागि तोकेर आउने कुरा भएको उनले जानकारी दिए ।

विगतमा अस्पताललाई केन्द्रबाट आउने गरेको एक बिरामीबापतको रु १० का दरले रु १७÷१८ लाख केन्द्र सरकारले स्थानीय तहलाई पठाएपछि झन समस्या थपिएको हो । त्यसैगरी टिकट छपाईबापत आउने बजेटसमेत नआएको उनको भनाइ छ । सरकारले धेरैजसो सेवा सुविधा निःशुल्क गर्दा पनि अस्पतालमा बजेटको अभाव भएको प्रमुख डा शाहले बताए ।

अस्पताललाई संस्थागत सुत्केरी गराएबापत वार्षिक आउने गरेको रु १२÷१३ लाखसमेत यस वर्ष नआएपछि अहिले जिल्ला अस्पतालले बजेटको चरम संकट भोगिरहेको छ ।

अस्पतालले स्थानीय व्यापारीलगायत औषधि खरिद गरेबापतको रु २० लाख गत वर्षको पैसा तिर्न बाँकी रहेको छ । अस्पतालले यस वर्ष गरेको प्रस्तावित आयमा समेत दोब्बरले कमी आएको छ ।

स्वास्थ्यजस्तो संवेदनशील क्षेत्र दयनीय अवस्थामा हुँदासमेत सम्बन्धित निकाय मौन बसेको छ । “ल्याबमा काम गर्दा प्रयोग गरिने सर्जिकल आइटमको अभाव छ, किन्नलाई बजेट छैन, ” अस्पतालका प्रमुख डा रविरञ्जन शाहले भने ।

महाकाली नगरपालिकाले जिल्ला अस्पताललाई नगर अस्पतालमा रुपान्तरण गरेमात्रै बजेट उपलब्ध गराउने जनाएको छ । यस्तै जिल्लाका अन्य स्थानीय तहले समेत अस्पताललाई बजेट उपलब्ध नगराउँदा अस्पताल दयनीय बनेको हो ।