के साँच्चै आउँछ त एयर एम्बुलेन्स ?

Avatar photo
Dhadingpost
जेष्ठ १७, २०७५

काठमाटडौ, जेठ १७ । रोगी तथा दुर्घटनामा घाइते भएकाहरुको आपतकालिन उपचारका लागि अस्पताल पुर्‍याउन परेमा एम्बुलेन्सको प्रयोग गरिन्छ । तर, एम्बुलेन्सको पहुँच सबैतिर छैन । एक त देशका सबै भेग सडक सञ्जालले जोडेको छैन ।

यदि कुनै दुर्गम भेगका बिरामीलाई तुरुन्त अस्पताल ल्याउनु पर्ने अवस्था आएमा के गर्ने कुनै दुर्घटनाका घाइतेलाई तत्काल उपचार सेवा दिने के गर्ने यसको जवाफ छैन हामीसँग । किनभने यति छिटो र छरितो ढंगले बिरामी तथा घाइतेलाई उपचार सेवा दिने संयन्त्र हामीसँग छैन । अर्कोतिर त्यस्ता बिरामी, घाइतेलाई अस्पतालसम्म ल्याउने एम्बुलेन्स सबैतिर उपलब्ध छैन ।

विकल्पः एयर एम्बुलेन्स

जहाँ एम्बुलेन्स सेवा पुगेको छैन वा एम्बुलेन्समा बिरामी घाइतेलाई ओसार्न सम्भव हुन्न, त्यस्ता क्षेत्रमा एयर एम्बुलेन्स प्रयोग गर्न सकिन्छ । त्यसो त एयर एम्बुलेन्स सञ्चालन गर्ने कुरा धेरै अगाडिदेखि हुँदै आएको छ । यद्यपी उक्त सेवा सञ्चालनमा आएको छैन ।

सरकारले ग्रामीण तथा दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको आपतकालिन उद्दारका लागि एयर एम्बुलेन्सको प्रवन्ध मिलाउने जनाएको छ ।

आर्थिक वर्ष ०७५÷७६ को बजेट भाषणका क्रममा अर्थमन्त्री डा‍.युवराज खतिवडाले ग्रामीण तथा दुर्गमा क्षेत्रमा जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको आपतकालीन उद्दारका लागि एयर एम्बुलेन्सको प्रवन्ध मिलाउने जनाएका छन् ।

नेपालमा एयर एम्बुलेन्सको चर्चा चलेको लामो समय वितिसक्दा पनि सरकारी स्तरमा भने एयर एम्बुलेन्स सञ्चालनमा आउन सकेको छैन ।

के अब एयर एम्बुलेन्स आउँछ

एयर एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउन स्वास्थ्य मन्त्री खगराज अधिकारीकै पालामा क्षेत्रीय निर्देशनालयहरुलाई ५०र५० लाख रुपैयाँका दरले बजेट विनियोजन गर्नुका साथै सरकारी स्तरमै एयर एम्बुलेन्स खरीद गर्ने अवधारणा स्वास्थ्य मन्त्रालयले अघि सारेको थियो ।

एयर एम्बुलेन्स सेवालाई प्रभावकारी रुपमा सञ्चालन गर्नकै लागि स्वास्थ्य मन्त्री खगराज अधिकारीकै पालामा स्वास्थ्य मन्त्रालयले पाँचै विकास क्षेत्रका क्षेत्रीय निर्देशनालयहरुलाई ५०÷५० लाख रुपैयाँका दरले रकम उपलब्ध गराएको थियो । तर बजेटको बाँडफाट, अधिकार प्रत्यायोजन तथा अर्थ मन्त्रालयको असहयोग कारण त्यसबेला मध्यपश्चिमाञ्चल तथा पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयले मात्र उक्त रकम उपयोग गरेको थियो ।

त्यसपछि एयर एम्बुलेन्सका कुरा त्यत्तिकै हराएकोमा स्वास्थ्य मन्त्री गगनकुमार थापा स्वास्थ्य मन्त्री हुँदा एयर एम्बुलेन्सले पुनः चर्चा पायो ।

तर सरकारी स्तरमा एयर एम्बुलेन्स खरीद गर्दा त्यसको व्यवस्थापन तथा अपरेशन खर्च मंहगो पर्ने भएपछि सरकारले टेण्डर प्रक्रिया मार्फत एयर एम्बुलेन्स सेवा सुरु गर्ने योजना बनाएको थियो ।

बजेट भाषणका क्रममा हालै अर्थमन्त्री डा.खतिवडाले ग्रामीण तथा दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको आपतकालीन उद्दारका लागि एयर एम्बुलेन्सको प्रवन्ध मिलाइने घोषणा गरेसँगै मातृ शिशु कार्यक्रमअन्तर्गत नेपालमा एयर एम्बुलेन्स सेवा सञ्चालनमा आउने निश्चित भएको छ ।

विशेषगरी, रातिको समयमा समेत सजिलै उद्धार गर्न सकिने ‘नाइट भिजन’ हेलिकप्टरमार्फत एयर एम्बुलेन्स सेवा दिने तयारी छ । एयर लिफ्टिङ्गको अवधारणा अघि सारेको सरकारले त्यसबेला गर्भवती तथा सुत्केरी महिलाबाहेक, भीडबाट लडेर ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य गर्न तथा भूकम्प लगायतका प्राकृतिक विपद्हरुका बेलामा मानिसहरुलाई समेत उद्धार गरिने विश्वास छ ।

‘एयर एम्बुलेन्स सञ्चालनका लागि सरकारले यस वर्षको बजेटमा निश्चित रकम छुट्याएको छ भन्नेसम्म सुनेको छु । हिजो मात्र बजेट पास भएकोले बजेट कति छ भन्ने अहिले नै यकिन भएन,’ नीति तथा योजना कार्यान्वयन महाशाखाका प्रमुख तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठले बताए ।

एयर एम्बुलेन्स सञ्चालनका लागि बजेट पास हुनासाथ यही असार मसान्त भित्रमा निश्चित कार्यविधि बनाई साउनदेखि नै त्यसलाई लागू गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

‘त्यतिबेला सबै जिल्ला अस्पतालहरुमा गर्भवती महिलाको शल्यक्रिया सम्भव थिएन । केही जिल्लामा मात्र शल्यक्रियाद्वारा शिशुको जन्म हुने अवस्था भएकोमा त्यसलाई बढाएर ७२ जिल्ला पुर्‍याएका थियौं । बाँकीका ठाउँमा एयर लिफ्टिङ्गद्वारा सुत्केरी महिलाको उद्धार गर्न स्वास्थ्य मन्त्रालयले नीतिगत निर्णय समेत गरेको थियो,’ पूर्वस्वास्थ्य मन्त्री अधिकारीले अनलाइनखबरसित भने ।

कार्कीले भने, ‘नेपालमा एयर एम्बुलेन्स तथा सडक एम्बुलेन्सलाई व्यवस्थित गर्न हामीले पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापालाई सुझाव पनि दिएका थियौ । त्यसतबेला उनले निश्चित कार्यविधि बनाएर यसको व्यवस्थापन गरिने बताएका पनि थिए । तर ती कुराहरु कागजमा मात्र सीमित भएको यस पटकको बजेटले भने यसलाई पनि समेट्नु आफैमा सकारात्मक छ ।’

नेपालमा एयर एम्बुलेन्स मात्र नभई सम्पूर्ण एम्बुलेन्सको प्रणालीमा नै परिवर्तन ल्याउन जरुरी रहेको नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले बताए ।

विशेषगरी, अमेरिका, बेलायत लगायतका विकसित मुलुकहरुमा फोन गरेको भरमै घटना भएको स्थानमा तत्काल सडक तथा हवाइ एम्बुलेन्स आउने गरेको स्मरण गराउँदै डा‍. लोचनले नेपालमा सडक एम्बुलेन्सका साथै एयर एम्बुलेन्सलाई सञ्चालन गर्न निश्चित कार्यविधि बनाउनु पर्नेमा जोड दिए ।