मनसुन अझै सक्रिय हुन सकेन

Avatar photo
Dhadingpost
असार ६, २०७४

धादिङ, असार ६-पश्चिमी वायुले बंगालको खाडीबाट आएको मनसुनी वायुलाई रोकेपछि असार पहिलो साता सकिन लाग्दा पनि देशभर वर्षा सुरु भएको छैन।

यो वर्षको मनसुन जुन १२ गते पूर्वी भाग हुँदै नेपाल प्रवेश गरेको थियो। तर कमजोर मनसुनी वायु देशको पश्चिम भागमा फैलिन नपाएको र पश्चिमी वायुको प्रभाव कायमै रहेकाले वर्षा सुरु नभएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए।

‘एकातिर मनसुनी वायु कमजोर आयो, अर्कातिर पश्चिमी वायु बलियो भएर बाटो छेकेर बस्यो,’ पौडेलले भने, ‘अहिले पूर्वी क्षेत्रमा मनसुनी वायुको प्रभाव बढिरहेको छ। पूर्वी र मध्य क्षेमा आज साँझ  पानी पर्ने सम्भावना छ।’

उनले पश्चिमी क्षेत्रमा पनि पश्चिमी वायु र स्थानीय प्रणालीका कारण आजै पानी पर्ने सम्भावना रहेको बताए। पौडेलले त्यसपछि पनि मनसुनी वायु सक्रिय हुन्छ कि हुन्न भने अझै टुंगो नभएको बताए।

‘दुई/तीन दिन देशैभरि पानी पर्ने देखिन्छ’, पौडेलले भने, ‘पानी परेसँगै उपत्यकासहित देशभरि गर्मी कम हुन्छ।’