धादिङका धनबहादुर तामाङ तमु समाज यूकेको समाज सेवा सम्मानबाट सम्मानित

Avatar photo
Dhadingpost
अशोज २०, २०८३

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–१४ का धनबहादुर तामाङ बेलायतमा ‘तमु समाज यूके उत्कृष्ट समाज सेवा सम्मान–२०२६’ बाट सम्मानित भएका छन् ।

बेलायतमा लामो समयदेखि बस्दै आएका तामाङलाई नेपाल तथा बेलायतमा विभिन्न संघसंस्थामार्फत सामाजिक क्षेत्रमा सक्रिय रही योगदान पुर्‍याएको कदरस्वरूप सम्मान गरिएको हो ।

तमु समाज यूकेले स्थापनाको १९ वर्ष पूरा गरी २०औँ वर्षमा प्रवेश गरेको अवसरमा ३ अक्टोबर २०२६ मा लन्डनको वेम्बलीस्थित बारहम पार्कमा रहेको समाजको सामुदायिक भवनमा १९औँ वार्षिकोत्सव आयोजना गरेको थियो। सोही कार्यक्रममा तामाङलाई सम्मान गरिएको हो ।

तामाङ गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका उपाध्यक्ष तथा धादिङ–नुवाकोट समाज यूकेका निवर्तमान अध्यक्ष हुन् । प्रवासमा रहेर नेपाली समुदायसँग सम्बन्धित सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका तामाङले धादिङ र नुवाकोटसँग जोडिएका सामाजिक काममा समेत योगदान पुर्‍याउँदै आएका छन् ।

तमु समाज यूकेको १९औँ वार्षिकोत्सव तथा सम्मान कार्यक्रममा समाजकी अध्यक्ष बिन्दुकुमारी गुरुङ घलेको अध्यक्षता तथा समाजका ज्येष्ठ नागरिक प्रेमबहादुर गुरुङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बेलायतस्थित नेपाली समुदायका विभिन्न संघसंस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता, काउन्सिलर तथा समाजका सदस्यहरूको सहभागिता रहेको थियो ।

समारोहमा धनबहादुर तामाङसँगै *एभरेस्ट टाइम्स यूकेका सम्पादक डा. दुत पुन (चिम्खोले काइँला)*लाई पनि पत्रकारितामार्फत समुदायमा योगदान पुर्‍याएको भन्दै ‘तमु समाज यूके उत्कृष्ट समाज सेवा सम्मान–२०२६’ प्रदान गरिएको थियो ।

त्यस्तै, उच्च शिक्षा तथा व्यावसायिक क्षेत्रमा उपलब्धि हासिल गरेका युवाहरूलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो । चार्टर्ड इन्जिनियरको व्यावसायिक मान्यता प्राप्त गरेका सिभिल इन्जिनियर दिवस गुरुङ तथा पत्रकारिता र फोटोग्राफीमा स्नातकोत्तर गरेका निरञ्जन घलेलाई सम्मान गरिएको थियो ।

समाजको सामुदायिक भवनमा नेपालको गाउँघर र मौलिक जनजीवन झल्कने भित्तेचित्र निर्माणमा योगदान पुर्‍याएकी समाजसेवी तथा चित्रकार इन्दिरा मोक्तानलाई पनि सोही सम्मानबाट सम्मानित गरिएको थियो । नेपालबाट आएका कलाकारहरू शर्मिला गुरुङ, दुर्गा गुरुङ र शर्मिला (सरु) गुरुङलाई समेत कलाक्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।

कार्यक्रममा संस्थाको प्रगति र उन्नतिमा योगदान पुर्‍याउने आजीवन सदस्य तथा अन्य व्यक्तित्वहरूलाई पनि सम्मान तथा अभिनन्दन गरिएको थियो । नवनिर्वाचित काउन्सिलरहरू जीत रानाभाट, गौमाया गुरुङ रानाभाट र ज्ञानप्रसाद गुरुङलगायतलाई बधाई तथा शुभकामना दिइएको थियो ।

तमु समाज यूकेले आफ्नो १९ वर्षे यात्रामा बेलायतमा रहेका नेपाली तथा तमु समुदायबीच एकता, सामाजिक सेवा तथा भाषा, संस्कार र संस्कृतिको संरक्षणका क्षेत्रमा काम गर्दै आएको जनाएको छ। पछिल्लो समय समाजले नेपालमा प्राकृतिक विपद्का बेला पनि सहयोग गर्दै आएको छ । भोटेकोशी बाढी प्रभावितको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि समाजले २५ लाख एक हजार एक सय रुपैयाँ नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको थियो ।

वार्षिकोत्सव कार्यक्रममा नयाँ आजीवन सदस्यलाई स्वागत, सम्मान तथा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो । नेपालबाट आएका कलाकारहरूको प्रस्तुति तथा अन्य सांगीतिक कार्यक्रमले समारोहलाई थप मनोरञ्जनात्मक बनाएको आयोजकले जनाएको छ ।

धादिङबाट बेलायत पुगेर सामाजिक क्षेत्रमा सक्रिय तामाङले प्राप्त गरेको सम्मानलाई धादिङको प्रवासी समुदायका लागि समेत महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । फाेटाे ‘वेनेपाली