
काठमाडौं । नेपालस्थित इजरायली दूतावासले धादिङको गल्छी गाउँपालिकाका बाढीप्रभावित समुदायलाई आपतकालीन मानवीय सहायता प्रदान गरेको छ ।
बाढीका कारण प्रभावित समुदायका व्यक्ति तथा परिवारले तत्काल कठिनाइ भोगिरहेका बेला इजरायली दूतावासले आपतकालीन झोला तथा अत्यावश्यक सामग्री सहयोग गरेको हो ।
इजरायली मिसनकी उपप्रमुख जनन बेबारले प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्दै बाढी प्रभावित व्यक्ति तथा परिवारलाई राहत सामग्री हस्तान्तरण गरेकी हुन् । उनले प्रभावित समुदायको अवस्था र बाढीका कारण परेको असरबारे समेत जानकारी लिएकी थिइन् ।
इजरायली दूतावासका अनुसार आपतकालीन अवस्थामा तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराउँदै प्रभावित परिवारलाई प्रारम्भिक राहत पुर्याउने उद्देश्यले सहयोग गरिएको हो ।
नेपालका लागि इजरायली राजदूत शमुलिक एरी बासले विपत्तिको यस कठिन घडीमा इजरायल नेपालका जनताको साथमा रहेको बताएका छन् ।
उनले बाढीबाट प्रभावित सबैप्रति सहानुभूति व्यक्त गर्दै प्रारम्भिक मानवीय सहायताले प्रभावित समुदायलाई केही हदसम्म तत्काल राहत पुग्ने विश्वास व्यक्त गरेका छन् । साथै, संकटको सामना गरिरहेको नेपाललाई सहयोग गर्न इजरायल प्रतिबद्ध रहेको बताएका छन् ।
धादिङको गल्छी क्षेत्रमा आएको बाढीका कारण स्थानीय बस्ती तथा समुदाय प्रभावित भएका छन् । विपत्तिपछि विभिन्न निकाय, संघसंस्था तथा सहयोगीहरूले प्रभावित परिवारका लागि राहत तथा मानवीय सहायता उपलब्ध गराउँदै आएका छन् ।
इजरायली दूतावासको सहयोगले बाढीबाट प्रभावित गल्छीका परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध हुनुका साथै विपत्तिको समयमा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त मानवीय सहयोगको महत्वसमेत देखाएको छ ।
