एड्भान्स एकेडेमीद्वारा बाढी प्रभावितका लागि २ लाख सहयोग

Avatar photo
Dhadingpost
भदौ १८, २०८३

धादिङ । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नीलकण्ठ नगरपालिका–३, धादिङमा रहेको एड्भान्स एकेडेमीले बाढी प्रभावितका लागि २ लाख रुपैयाँ सहयोग गरेको छ ।

बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि विद्यालयले संकलन गरेको २ लाख रुपैयाँको चेक गल्छी गाउँपालिकाका अध्यक्ष केदार खतिवडालाई हस्तान्तरण गरेको हो। उक्त रकम प्रकोप व्यवस्थापन खातामा जम्मा हुने गरी हस्तान्तरण गरिएको विद्यालयले जनाएको छ।

विद्यालयका अनुसार संकलित रकममा विद्यार्थी, शिक्षक तथा कर्मचारी र विद्यालयको तर्फबाट गरिएको सहयोग समावेश छ।

सहयोगको विवरण :

  • विद्यार्थीहरूबाट स्वैच्छिक सहयोग : रु. २३,७४५
  • शिक्षक तथा कर्मचारीबाट स्वैच्छिक सहयोग : रु. ६४,१५०
  • विद्यालयको तर्फबाट सहयोग : रु. १,१२,१०५

यसरी विद्यार्थी, शिक्षक–कर्मचारी र विद्यालयको सहयोगबाट कुल रु. २ लाख संकलन भएको हो ।

बाढीपीडित विद्यार्थीलाई निःशुल्क अध्ययन

एड्भान्स एकेडेमीले बाढीका कारण अभिभावक गुमाएका तथा आर्थिक कठिनाइमा परेका विद्यार्थीहरूका लागि नर्सरीदेखि कक्षा १२ सम्म निःशुल्क अध्ययन–अध्यापनको व्यवस्था गर्ने घोषणा गरेको छ ।

विद्यालयका सञ्चालक तथा प्रिन्सिपल भीमबहादुर श्रेष्ठ र अध्यक्ष अर्जुनकुमार श्रेष्ठ ‘गोर्खाली’ द्वारा जारी प्रेस विज्ञप्तिमा बाढीका कारण प्रभावित विद्यार्थीको शिक्षामा निरन्तरता दिन यस्तो व्यवस्था गरिएको उल्लेख छ ।

विद्यालयले विपद्का कारण अभिभावक गुमाएका तथा आर्थिक रूपमा समस्यामा परेका बालबालिकाको शिक्षामा सहयोग पुर्‍याउनु आफ्नो सामाजिक दायित्व भएको जनाएको छ ।

विद्यालय परिवारले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता व्यक्तिहरूको शीघ्र खोजी तथा सुरक्षित उद्धारका लागि सम्बन्धित निकायसँग अपिल गरेको छ ।

बाढी तथा विपद्का कारण प्रभावित नागरिकको राहत र पुनःस्थापनाका लागि विभिन्न व्यक्ति, संस्था तथा समुदायबाट सहयोग जुटिरहेका बेला एड्भान्स एकेडेमीको आर्थिक सहयोगसँगै प्रभावित विद्यार्थीलाई निःशुल्क शिक्षा दिने निर्णयले राहतसँगै शिक्षाको निरन्तरतामा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।