
धादिङ । धादिङका विभिन्न स्थानमा बाढीपछि फेला परेका पहिचान नखुलेका २३ शव तथा शरीरका अंग गजुरी गाउँपालिका–५, गलौंदी हाइटस्थित ठूलो सामुदायिक वन क्षेत्रमा व्यवस्थापन गरिएको छ ।
शवहरू कुहिन थालेपछि संक्रमण तथा महामारी फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डीएसपी प्रकाश दाहालका अनुसार शव व्यवस्थापन गर्नुअघि शव तथा शरीरका अंगहरूको मुचुल्का तयार गरिएको थियो । त्यसपछि पोस्टमार्टम तथा डीएनए परीक्षणका लागि आवश्यक नमुना संकलन गरी प्रचलित शव व्यवस्थापन कार्यविधिअनुसार व्यवस्थापन गरिएको हो ।
प्रहरीका अनुसार सग्लो शरीर भएका दुई शव र शरीरका विभिन्न अंग भएका २१ शव गरी जम्मा २३ शव तथा अंग व्यवस्थापन गरिएको छ । शव तथा अंगहरूलाई भविष्यमा सहज रूपमा पहिचान गर्न सकिने गरी छुट्टाछुट्टै नम्बर दिई खाडल खनेर राखिएको प्रहरीले जनाएको छ ।
डीएसपी दाहालका अनुसार भविष्यमा डीएनए परीक्षणबाट कुनै शवको पहिचान खुलेमा सम्बन्धित परिवारलाई जानकारी गराइनेछ। त्यसपछि परिवारले प्रचलित विधि तथा अन्तिम संस्कारअनुसार शव लैजान सक्ने व्यवस्था मिलाइएको छ ।
बाढीबाट संकलित शव व्यवस्थापन पूरा
यसअघि बाढीका कारण धादिङमा संकलन गरिएका २७ शव पोखरा र ६ शव काठमाडौं पठाएर व्यवस्थापन गरिएको थियो ।
गजुरीमा रहेका पहिचान नखुलेका शव तथा शरीरका अंगसमेत व्यवस्थापन गरिएपछि बाढीका क्रममा धादिङमा संकलन भएका सम्पूर्ण शवको व्यवस्थापन कार्य पूरा भएको प्रहरीले जनाएको छ ।
प्रहरीले शव व्यवस्थापनका क्रममा आवश्यक कानुनी प्रक्रिया, पोस्टमार्टम, डीएनए नमुना संकलन तथा नम्बरिङलगायतका प्रक्रिया पूरा गरिएको जनाएको छ । यसले भविष्यमा पहिचान खुलेमा सम्बन्धित परिवारलाई शव हस्तान्तरण गर्न सहज हुने प्रहरीको भनाइ छ ।
