
धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजले बाढीपहिरो प्रभावित तथा पीडित परिवारको राहतका लागि २५ लाख रुपैयाँ सहयोग संकलन गर्ने लक्ष्य लिएको छ ।
समाजका अध्यक्ष राजन खकुरालका अनुसार आपत्कालीन कार्यसमितिको बैठक सम्पन्न भएसँगै विपद्मा प्रभावित नागरिकलाई सहयोग गर्ने निर्णय गरिएको हो । बैठकले विश्वभर रहेका धादिङवासी तथा नेपाली समुदायलाई सहयोगका लागि अपिल गर्दै २५ लाख रुपैयाँ बराबरको राहत सहयोग जुटाउने लक्ष्य निर्धारण गरेको छ ।
समाजले जारी गरेको अपिलमा तिब्बतबाट आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको उल्लेख गर्दै पीडित परिवारप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
विपद्को यस घडीमा विश्वभर रहेका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, संघ–संस्था तथा सहयोगी मनहरूलाई आफ्नो क्षमताअनुसार सहयोग गर्न समाजले अपिल गरेको छ ।
समाजले संकलन हुने सम्पूर्ण सहयोग सीधै राहत कार्यमा खर्च गर्ने जनाएको छ । सहयोग गर्न चाहनेहरूले समाजको Sanima Bank मा रहेको “International Society of Dhading” नामको खातामा रकम जम्मा गर्न सक्ने व्यवस्था गरिएको छ ।
खाता विवरण:
Account Name: INTERNATIONAL SOCIETY OF DHADING
Bank: Sanima Bank
Account Number: 004010010002725
लक्ष्य रकम: रु. २५,००,०००
अध्यक्ष खकुरालले विपद्को समयमा धादिङवासीहरू एकजुट भएर प्रभावित नागरिकको साथमा उभिनुपर्ने बताउँदै सक्दो सहयोग र पहलका लागि सबैमा आग्रह गरेका छन् ।
“विपद्मा धादिङ समाज सँगै उभिने” प्रतिबद्धतासहित समाजले स्थानीय समन्वयमार्फत प्रभावित समुदायसम्म राहत पुर्याउने लक्ष्य राखेको जनाएको छ।
