
धादिङ । गल्छी गाउँपालिकास्थित द राइजिङ भिलेज इङ्लिस स्कुल शिक्षा विकास तथा समन्वय एकाइ, धादिङको अनुगमनमा समग्र व्यवस्थापन तथा शैक्षिक गतिविधि केहि सामान्य सुधार बाहेक ठिकठाक रहेको पाइएको छ ।
शिक्षा विकास तथा समन्वय एकाइ, धादिङको आयोजना तथा गल्छी गाउँपालिका, शिक्षा, युवा तथा खेलकुद शाखाको समन्वयमा विद्यालयमा २०८३ साउन २८ गते अनुगमन, निरीक्षण तथा कक्षा अवलोकन गरिएको हो ।
अनुगमनका क्रममा विद्यालय नियमित रूपमा सञ्चालन भइरहेको, शिक्षकहरूले नियमित शिक्षण योजना निर्माण तथा कार्यान्वयन गरिरहेको, पाठ्यपुस्तकको उचित व्यवस्थापन गरिएको तथा शिक्षक र विद्यार्थीको उपस्थिति सन्तोषजनक रहेको पाइएको छ ।
त्यसैगरी, विद्यालयमा IEMIS (एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली) कार्यान्वयनमा रहेको, विद्यालय व्यवस्थापन समितिको बैठकबाट भएका निर्णय कार्यान्वयन भइरहेको तथा विद्यार्थी छात्रवृत्ति वितरणको व्यवस्थापन नियमित रहेको अनुगमन टोलीले जनाएको छ ।
अनुगमन टोलीले विद्यालय सुधार योजना (SIP) निर्माण तथा कार्यान्वयनका लागि अविलम्ब प्रक्रिया अघि बढाउनुपर्ने, विद्यालयको सामाजिक परीक्षण तथा बाह्य लेखापरीक्षण गर्ने परिपाटी विकास गर्नुपर्ने सुझाव दिइएको छ।
द राइजिङ भिलेज इङ्लिस स्कुल जिल्लामा राम्रो शैक्षिक नतिजा दिँदै आएको विद्यालयका रूपमा परिचित रहेको छ । विद्यालयका प्रिन्सिपल नवराज ओझा हुन् ।
ओझाले प्याब्सन धादिङको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् भने प्याब्सनको केन्द्रीय समितिमा समेत रहेर शैक्षिक क्षेत्रमा योगदान गरेका छन् ।
विद्यालय अनुगमनमा शिक्षा विकास तथा समन्वय एकाइ, धादिङका एकाइ प्रमुख कृष्ण कुमार श्रेष्ठ र शाखा अधिकृत विजय तामाङ सहभागी थिए । फाईल तस्वीर
