
धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजको बैठकले विदेशमा रहेका धादिङेलीलाई संस्थामा आबद्ध गराउनेदेखि जिल्लामा शिक्षा, स्वास्थ्य, खेलकुद तथा विकास निर्माणका क्षेत्रमा आवश्यकताअनुसार सहयोग गर्ने निर्णय गरेको छ ।
बैठकले विदेशमा रहेका धादिङेलीलाई संस्थासँग जोड्दै उनीहरूबीच आपसी सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गरेको हो । विदेशमा गएर विभिन्न समस्या भोगिरहेका धादिङेलीलाई आवश्यक सहयोग तथा सहजीकरण गर्ने विषयलाई समेत प्राथमिकतामा राखिएको छ ।
संस्थाको कोषलाई थप मजबुत बनाउने निर्णय गर्दै त्यसका लागि आर्थिक समिति गठन गरी समन्वय परिषद्, संरक्षक तथा सल्लाहकारहरूसँग आवश्यक समन्वय र सहयोगका लागि अनुरोध गर्ने निर्णय गरिएको छ ।
त्यस्तै धादिङ जिल्लामा शिक्षा, स्वास्थ्य, खेलकुद तथा अन्य सरोकारका क्षेत्रमा आवश्यकताका आधारमा सहयोग गर्ने निर्णय बैठकले गरेको छ । समाजले जिल्लाको आवश्यकता पहिचान गरी आफ्नो क्षमता र स्रोतअनुसार सामाजिक क्षेत्रमा सहयोगलाई निरन्तरता दिने जनाएको छ ।
बैठकमा संस्थाको आगामी अधिवेशनलाई सभ्य, व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्ने विषयमा समेत छलफल भएको थियो । अधिवेशनलाई प्रभावकारी बनाउन आवश्यक तयारी, व्यवस्थापन र सहभागिताका विषयमा थप समन्वय गर्ने निर्णय गरिएको छ ।
बैठकमा अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राज खकुरालले समाजलाई थप चलायमान बनाउनुपर्नेमा जोड दिएका थिए । उनले विश्वका विभिन्न मुलुकमा रहेका धादिङेलीलाई संस्थामा आबद्ध गराउँदै आफ्नो मातृभूमिप्रति थप उत्तरदायी बन्ने वातावरण निर्माण गर्नुपर्ने धारणा राखेका थिए ।
अध्यक्ष खकुरालले विदेशमा रहेका धादिङेलीबीच आपसी सहकार्य र एकता बढाउँदै मातृभूमि धादिङको शिक्षा, स्वास्थ्य, खेलकुद तथा विकास निर्माणमा योगदान पुर्याउन समाजले भूमिका निर्वाह गर्नुपर्ने बताए ।
अन्तर्राष्ट्रिय धादिङ समाजले विगतदेखि नै धादिङमा शिक्षा, स्वास्थ्य, खेलकुदलगायत विकास निर्माणका क्षेत्रमा सहयोग गर्दै आएको छ । समाजले हालसम्म विश्वका १९ राष्ट्रमा शाखा विस्तार गरिसकेको जनाएको छ ।
विदेशमा रहेका धादिङेलीलाई एउटै संस्थागत छातामुनि जोड्दै जिल्लाको सामाजिक तथा विकास क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले समाजले आगामी दिनमा आफ्नो गतिविधिलाई थप प्रभावकारी बनाउने तयारी गरेको छ ।
