
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको नयाँ खाका सार्वजनिक गरेको छ । पार्टीले मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष तथा वडा सदस्य पदका उम्मेदवार छनोटलाई वैज्ञानिक, वस्तुपरक, पारदर्शी र सहभागितामूलक बनाउने उद्देश्यसहित नयाँ कार्यविधि अघि सारेको हो ।
रास्वपाको प्रस्तावित प्रणालीअनुसार स्थानीय तहमा पार्टीको तर्फबाट उम्मेदवार बन्न इच्छुक व्यक्तिले सम्बन्धित नगरपालिका वा वडाको ‘उम्मेदवार क्लब’ मा औपचारिक आवेदन दिनुपर्नेछ । आवेदनपछि आकांक्षीले विभिन्न चरणको मूल्याङ्कन पार गर्नुपर्ने व्यवस्था गरिएको छ ।
उम्मेदवार छनोटमा ४० प्रतिशत आन्तरिक निर्वाचन
रास्वपाले उम्मेदवार छनोटका लागि विभिन्न आधारलाई निश्चित भारांक तोकेको छ । तीमध्ये प्रारम्भिक आन्तरिक निर्वाचनलाई सबैभन्दा बढी ४० प्रतिशत भार दिइएको छ ।
आन्तरिक निर्वाचनमा पार्टीका सक्रिय सदस्य, संगठनात्मक समितिका प्रतिनिधि तथा विशिष्ट नेताहरूले मतदान गर्ने व्यवस्था गरिएको छ । यसबाट उम्मेदवार छनोटमा पार्टीभित्रकै सदस्य तथा प्रतिनिधिको मतलाई महत्वपूर्ण आधार बनाउने रास्वपाको योजना देखिन्छ ।
त्यस्तै, उम्मेदवारको क्षमता र नेतृत्वसम्बन्धी ज्ञान मूल्याङ्कन गर्न ‘लिडरसिप एकेडेमी’बाट लिइने परीक्षालाई २५ प्रतिशत भार दिइएको छ ।
उम्मेदवारको जनसम्पर्क, लोकप्रियता तथा राजनीतिक सक्रियताको मूल्याङ्कन गर्ने ‘पोलिटिकल प्रोक्सिमिटी’लाई पनि २५ प्रतिशत भार दिइएको छ ।
त्यसैगरी समावेशी प्रतिनिधित्वलाई १० प्रतिशत भार दिइएको छ ।
यसरी उम्मेदवार छनोटमा आन्तरिक निर्वाचन, नेतृत्व क्षमता, जनसम्पर्क तथा लोकप्रियता र समावेशी प्रतिनिधित्वलाई समेटिएको छ ।
आर्थिक चलखेल र गुटबन्दी रोक्न कडा आचारसंहिता
रास्वपाले उम्मेदवार छनोट प्रक्रिया निष्पक्ष र पारदर्शी बनाउन आर्थिक चलखेल, धाँधली तथा गुटबन्दी रोक्न कडा आचारसंहिता लागू गर्ने जनाएको छ ।
तर असाधारण परिस्थिति उत्पन्न भएमा भने केन्द्रीय समितिले दुई तिहाइ बहुमतबाट प्रत्यक्ष रूपमा उम्मेदवार चयन गर्न सक्ने व्यवस्था पनि कार्यविधिमा राखिएको छ ।
एउटै निर्वाचन चक्रमा दोहोरिएर उम्मेदवार छनोटमा सहभागी हुन नपाइने
रास्वपाले एउटै निर्वाचन चक्रमा विभिन्न तहका उम्मेदवार छनोट प्रक्रियामा दोहोरिएर सहभागी हुन नपाउने व्यवस्था पनि गरेको छ ।
रुपरेखाअनुसार प्रतिनिधिसभाको उम्मेदवार छनोट प्रक्रियामा सहभागी भइसकेका व्यक्ति सोही निर्वाचन चक्रमा स्थानीय तहको उम्मेदवार छनोट प्रक्रियामा सहभागी हुन पाउने छैनन् ।
त्यस्तै, स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेर पराजित भएका व्यक्तिले सोही निर्वाचन चक्रमा हुने प्रदेशसभा निर्वाचनको उम्मेदवार छनोट प्रक्रियामा सहभागी हुन नपाउने व्यवस्था गरिएको छ ।
वडा तहको उम्मेदवार छनोट प्रक्रियामा सहभागी भएका व्यक्तिले पनि सोही निर्वाचन चक्रभित्र प्रदेशसभा सदस्यको उम्मेदवार छनोट प्रक्रियामा सहभागी हुन नपाउने प्रावधान राखिएको छ ।
पारदर्शिता र सहभागितालाई प्राथमिकता
रास्वपाले नयाँ कार्यविधिमार्फत उम्मेदवार छनोट प्रक्रियामा योग्यता, नेतृत्व क्षमता, जनसम्पर्क, लोकप्रियता, समावेशिता र आन्तरिक लोकतन्त्रलाई प्राथमिकता दिने जनाएको छ ।
स्थानीय तह निर्वाचनका लागि सार्वजनिक गरिएको यो नयाँ खाकाले उम्मेदवार छनोटलाई परम्परागत राजनीतिक अभ्यासभन्दा फरक र बढी प्रतिस्पर्धात्मक बनाउने प्रयास गरेको देखिन्छ । अब पार्टीको तर्फबाट स्थानीय तहमा उम्मेदवार बन्न चाहने आकांक्षीले आवेदन दिएपछि विभिन्न मूल्याङ्कन र आन्तरिक निर्वाचनको प्रक्रियाबाट अघि बढ्नुपर्नेछ ।
