अमेरिकामा नेपाली जनसम्पर्क समितिको वरिष्ठ उपसभापतिमा उत्तम धमलाको उम्मेदवारी

Avatar photo
Dhadingpost
साउन २१, २०८३

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका घर भई हाल अमेरिकामा बस्दै आएका उत्तम धमलाले नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति, अमेरिका (NPRCA) को आसन्न अधिवेशनमा वरिष्ठ उपसभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

धमलाले आफ्नो उम्मेदवारी कुनै व्यक्तिगत महत्वाकांक्षाका लागि नभई संगठनलाई थप बलियो, लोकतान्त्रिक, पारदर्शी र सबैलाई अपनत्व महसुस हुने साझा संस्थाका रूपमा विकास गर्ने उद्देश्यले अघि सारेको बताएका छन् ।

उम्मेदवारी घोषणा गर्दै धमलाले संगठनमा नयाँ सोच र परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै ‘विकल्प खोज्ने होइन, अब परिवर्तनका लागि विकल्प बन्ने हो’ भन्ने धारणा अघि सारेका छन् । उनले आफ्नो उम्मेदवारी रहर नभई संगठनको वर्तमान अवस्थालाई सुधार गर्नुपर्ने आवश्यकताबाट उत्पन्न भएको बताएका छन् ।

धमलाले ‘जनसम्पर्कमा सफाइ’‘दश वर्षे नेतृत्व कोही दोहोरिन नपाउने’ लगायतका एजेण्डालाई समेत प्राथमिकताका साथ अघि सारेका छन् ।

उनका अनुसार संगठनलाई समयअनुकूल बनाउँदै नेतृत्वमा नयाँ पुस्ताको सहभागिता बढाउने, संस्थाभित्र लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउने तथा पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिने उनको मुख्य उद्देश्य रहेको छ ।

नेपाली जनसम्पर्क समिति, अमेरिकाको आसन्न अधिवेशन अगस्ट १४, १५ र १६ गते तीन दिनसम्म Hilton Hotel आयोजना हुने जनाइएको छ ।

धादिङबाट अमेरिकामा पुगेर सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका धमलाको उम्मेदवारीले आसन्न अधिवेशनमा थप चासो बढाएको छ ।