
धादिङ । चन्द्रोदय बहुमुखी क्याम्पसको शारीरिक शिक्षा समूहद्वारा आयोजित खुला भलिबल प्रतियोगिताको उपाधि टिम विशालटारले जितेको छ ।
भलिबल रेफ्री सोम श्रेष्ठका अनुसार फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै विशालटारले उपाधि जितेको हो । प्रतियोगितामा आयोजक चन्द्रोदय बहुमुखी क्याम्पस उपविजेतामा सीमित भयो ।
प्रतियोगिताका विजेता टिम विशालटारले नगद २० हजार रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता चन्द्रोदय बहुमुखी क्याम्पसले १० हजार रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेको छ ।
चन्द्रोदय बहुमुखी क्याम्पसको खेल मैदानमा सम्पन्न प्रतियोगितामा विभिन्न टोली गरी ६ टिमको सहभागिता रहेको थियो ।
शारीरिक शिक्षा समूहले विद्यार्थी तथा युवामा खेलकुदप्रति आकर्षण बढाउने, स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने तथा भलिबल खेलको प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाएको छ ।
