
धादिङ । आज जुलाई १५ विश्वभर विश्व युवा दक्षता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । युवालाई समयअनुकूल सीप, रोजगारी, उद्यमशीलता र आत्मनिर्भरतातर्फ उन्मुख गराउने उद्देश्यले मनाइने यस दिवसको यस वर्षको मूल नारा ‘साझा भविष्यका लागि सीप’ (Skills for a Shared Future) रहेको छ ।
विश्व युवा दक्षता दिवसको सुरुआत संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१४ डिसेम्बर १८ मा पारित गरेको प्रस्ताव अनुसार भएको हो। त्यसपछि सन् २०१५ देखि हरेक वर्ष जुलाई १५ का दिन यो दिवस मनाउन थालिएको हो ।
किन मनाइन्छ विश्व युवा दक्षता दिवस ?
विश्वभर लाखौं युवा शिक्षा पूरा गरे पनि आवश्यक प्राविधिक, व्यावसायिक र डिजिटल सीप नहुँदा रोजगारी पाउन कठिनाइ भइरहेको छ । यही चुनौतीलाई सम्बोधन गर्दै युवालाई श्रम बजारको मागअनुसार दक्ष बनाउने, स्वरोजगार र उद्यमशीलतामा प्रेरित गर्ने तथा दिगो विकासमा युवाको भूमिका सशक्त बनाउने उद्देश्यले यो दिवस मनाइन्छ ।
संयुक्त राष्ट्रसंघका अनुसार गुणस्तरीय सीप विकासले गरिबी न्यूनीकरण, बेरोजगारी घटाउने, आर्थिक विकासलाई गति दिने तथा दिगो विकास लक्ष्य (SDGs) हासिल गर्न महत्त्वपूर्ण योगदान पुर्याउँछ ।
यस वर्षको नारा किन विशेष ?
‘साझा भविष्यका लागि सीप’ भन्ने यस वर्षको नाराले बदलिँदो विश्व, डिजिटल प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई), हरित अर्थतन्त्र र नयाँ रोजगारीका अवसरसँग मेल खाने सीप विकासमा जोड दिएको छ ।
यस नाराले सरकार, शैक्षिक संस्था, निजी क्षेत्र तथा उद्योग–व्यवसायबीच सहकार्य गर्दै युवालाई भविष्यको श्रम बजारका लागि तयार पार्नुपर्ने सन्देश दिएको छ ।
नेपालका लागि किन महत्त्वपूर्ण ?
नेपालमा प्रत्येक वर्ष हजारौं युवा रोजगारीको खोजीमा स्वदेश तथा विदेश जाने गरेका छन् । विशेषज्ञहरूका अनुसार बजारको आवश्यकता अनुसार प्राविधिक, व्यावसायिक, डिजिटल तथा उद्यमशील सीप प्रदान गर्न सके युवाले स्वदेशमै रोजगारी सिर्जना गर्न सक्ने, उत्पादनशीलता बढ्ने र वैदेशिक रोजगारीमा निर्भरता समेत घट्न सक्छ ।
यसका लागि प्राविधिक तथा व्यावसायिक शिक्षा, सूचना प्रविधि, कृषि, पर्यटन, निर्माण, स्वास्थ्य लगायतका क्षेत्रमा सीपमूलक तालिमलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ।
विश्व युवा दक्षता दिवसले युवालाई केवल रोजगारीका लागि मात्र नभई नवप्रवर्तन, उद्यमशीलता, सामाजिक नेतृत्व र दिगो विकासका प्रमुख साझेदार का रूपमा स्थापित गर्न प्रेरित गर्ने विश्वास लिइएको छ ।
