प्याब्सन धादिङका २८ विद्यालयमा एकैसाथ प्रथम त्रैमासिक परीक्षा सुरु, १३ हजार २१२ विद्यार्थी सहभागी

Avatar photo
Dhadingpost
असार २४, २०८३

धादिङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) धादिङमा आबद्ध २८ वटा विद्यालयमा आजदेखि एकैसाथ प्रथम त्रैमासिक परीक्षा सुरु भएको छ ।

प्याब्सन धादिङका अध्यक्ष दिनेश भट्टका अनुसार कक्षा १ देखि ५ सम्मका विद्यार्थीको आन्तरिक मूल्याङ्कन तथा कक्षा ६ देखि १० सम्मका विद्यार्थीको प्रथम त्रैमासिक परीक्षा एकैसाथ सञ्चालन गरिएको हो ।

यस वर्ष प्याब्सन धादिङमा आबद्ध विद्यालयका कुल १३ हजार २१२ जना विद्यार्थी परीक्षा प्रक्रियामा सहभागी भएका छन् । सबै विद्यालयमा समान स्तरको मूल्याङ्कन सुनिश्चित गर्न एउटै प्रश्नपत्रमार्फत परीक्षा सञ्चालन गरिएको अध्यक्ष भट्टले जानकारी दिए ।

उनका अनुसार एकीकृत प्रश्नपत्र प्रणालीले विद्यार्थीको शैक्षिक उपलब्धिको निष्पक्ष मूल्याङ्कन गर्न, विद्यालयबीचको शैक्षिक गुणस्तर तुलना गर्न तथा शिक्षण–सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्याब्सन धादिङमा आबद्ध विद्यालयहरूले विगतका वर्षहरूमा जिल्लास्तरीय तथा राष्ट्रिय परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै आएका छन् । गुणस्तरीय शिक्षासँगै नियमित शैक्षिक मूल्याङ्कनलाई प्राथमिकता दिँदै आएका कारण पनि यी विद्यालयप्रति अभिभावक र विद्यार्थीको आकर्षण बढ्दो रहेको छ ।