
धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ जोगीमाराबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–३ का ४१ वर्षीय मोहनप्रसाद कुर्मी र ३५ वर्षीया प्रतिमा देवी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार वीरगञ्जबाट बनेपातर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख २६८९ नम्बरको यात्रुवाहक बसमा प्रतिबन्धित लागुऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा प्रहरी चौकी जोगीमाराबाट खटिएको प्रहरी टोलीले बस जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूको साथबाट ७८ हजार ४ सय क्याप्सुल प्रतिबन्धित लागुऔषध ट्रामाडोल हाइड्रोक्लोराइड (Tramadol Hydrochloride) बरामद गरेको जनाएको छ।
बरामद लागुऔषध एउटा सुटकेस र दुईवटा जेब्रा झोलाभित्र रबरले बेरेर पोका पारिएको अवस्थामा फेला परेको थियो । प्रहरीले ७ हजार ८४० वटा स्ट्रिप (प्रति स्ट्रिप १० क्याप्सुल) बरामद गरेको जनाएको छ ।
पक्राउ परेका दुवै जनामाथि लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
