धादिङकी सबिता तामाङ बनिन् ‘मिस म्हेन्दोमाया ब्यूटी क्विन’

Avatar photo
Dhadingpost
असार २३, २०८३

धादिङ। तामाङ समुदायको मौलिक भाषा, कला, संस्कृति, भेषभूषा तथा पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित ‘मिस म्हेन्दोमाया ब्यूटी क्विन’ प्रतियोगिताको उपाधि धादिङको रुबीभ्याली गाउँपालिकाकी सबिता तामाङ ले जितेकी छन् ।

प्रतियोगितामा नुवाकोटको किस्पाङ गाउँपालिकाकी जेनिसा तामाङ पहिलो रनर–अप घोषित भइन् भने नुवाकोटकै पञ्चकन्या गाउँपालिकाकी पूर्णिमा तामाङ दोस्रो रनर–अप बनिन् । त्यसैगरी धादिङको नेत्रावती डब्जोङ गाउँपालिकाकी रचना तामाङ तेस्रो रनर–अप घोषित भएकी छन् ।

प्रतियोगिताको नतिजा
विजेता: सबिता तामाङ (रुबीभ्याली, धादिङ)
पहिलो रनर–अप: जेनिसा तामाङ (किस्पाङ, नुवाकोट)
दोस्रो रनर–अप: पूर्णिमा तामाङ (पञ्चकन्या, नुवाकोट)
तेस्रो रनर–अप: रचना तामाङ (नेत्रावती डब्जोङ, धादिङ)

“तामाङ म्हेन्दोमाया मौलिक भाषा, कला, संस्कृति तथा भेषभूषाको संरक्षण, सौन्दर्य, पहिचान र आत्मविश्वासको प्रतीक” भन्ने मूल नारासहित आयोजना गरिएको प्रतियोगिताले तामाङ समुदायको सांस्कृतिक सम्पदा, मौलिक पहिचान र नयाँ पुस्तामा आफ्नो भाषा तथा संस्कृतिप्रतिको अपनत्व अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागीहरूले तामाङ समुदायको परम्परागत भेषभूषा, संस्कृति, कला, व्यक्तित्व, प्रतिभा तथा आत्मविश्वास प्रस्तुत गरेका थिए । आयोजकका अनुसार यस्ता कार्यक्रमले समुदायको सांस्कृतिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न थप टेवा पुग्ने विश्वास लिइएको छ । तस्वीर स्रोतः रुपा घले