धादिङमा छोराको धारिलो हतियार प्रहारबाट बुबाको मृत्यु

Avatar photo
Dhadingpost
असार २१, २०८३

धादिङ । धादिङको गंगाजमुना गाउँपालिका–४ धर्गाचोक यार्चामा छोराले धारिलो हतियार प्रहार गर्दा बुबाको मृत्यु भएको छ।

शनिबार दिउँसो करिब २ बजेतिर भएको घटनामा ६४ वर्षीय धन नारायण सुनारको मृत्यु भएको हो । स्थानीयका अनुसार धारिलो हतियार प्रहार गर्ने उनका ३० वर्षीय छोरा सुजन सुनार मानसिक रोगबाट पीडित रहेको बताइएको छ ।

गंगाजमुना गाउँपालिकाका उपाध्यक्ष रामेश्वर सिंखडाका अनुसार घटना हुँदा उनी गाउँमै अनुगमनमा रहेका थिए । फर्कने क्रममा घटनास्थलमा ठूलो भीड देखेपछि उनी त्यहाँ पुगेका थिए ।

उपाध्यक्ष सिंखडाले स्थानीयले सुजन सुनारलाई नियन्त्रणमा लिएर बाँधेर राखेको र गम्भीर घाइते भएका धनबहादुर सुनारलाई तत्काल उपचारका लागि फुलखर्क प्राथमिक स्वास्थ्य केन्द्र (अस्पताल) पुर्‍याइएको जानकारी दिए । उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

घटनाबारे जानकारी पाएपछि प्रहरी घटनास्थलमा पुगेर थप अनुसन्धान सुरु गरेको छ । घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।