
धादिङ, असार १८ । धादिङमा सञ्चालनमा रहेका विभिन्न होटल तथा खाद्य व्यवसायमा गरिएको बजार अनुगमनका क्रममा खाद्य मापदण्ड र सरसफाइमा गम्भीर लापरबाही गरेको पाइएपछि तीन होटलमाथि कारबाही गरिएको छ।
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा उपभोक्ता हित संरक्षणसँग सम्बन्धित निकायहरूको संयुक्त अनुगमन टोलीले गरेको निरीक्षणका क्रममा मूल्यसूची नराख्ने, सरसफाइका न्यूनतम मापदण्ड पालना नगर्ने तथा उपभोक्ता हित संरक्षणसम्बन्धी कानुनी व्यवस्था उल्लङ्घन गरेको पाइएपछि कारबाही गरिएको हो।
अनुगमनका क्रममा थाक्रे गाउँपालिका–७, सातकिलोस्थित दिव्यांसी होटल एण्ड लज, मन्दिरा होटल एण्ड रेष्टुरेन्ट तथा शुभलक्ष्मी होटल एण्ड रेष्टुरेन्ट मा खाद्य मापदण्ड र सरसफाइमा गम्भीर लापरबाही भेटिएको टोलीले जनाएको छ।
टोलीका अनुसार ती होटलमा बिक्रीका लागि राखिएको खाना बासी अवस्थामा रहेको, केही परिकारमा किरा परेको, खाना पकाउने तथा तयारी गर्ने स्थान अत्यन्त फोहोर रहेको, प्रयोगका लागि राखिएका तरकारी कुहिएको अवस्थामा फेला परेको, म्याद गुज्रिएका खाद्य सामग्री प्रयोगका लागि राखिएको तथा फ्रिजभित्र कुहिएका सामग्री र अन्य खानेकुरा अस्वस्थकर तरिकाले भण्डारण गरिएको पाइएको थियो।
उक्त कमजोरीका आधारमा सम्बन्धित होटलहरूलाई प्रचलित कानुनअनुसार जरिवाना तथा आवश्यक सुधारका लागि निर्देशन दिइएको छ । अनुगमन टोलीले आगामी दिनमा पनि यस्ता अनुगमनलाई निरन्तरता दिइने र मापदण्ड उल्लङ्घन गर्ने व्यवसायमाथि कडा कारबाही गरिने जनाएको छ।
