
धादिङ । लायन्स क्लब अफ काठमाडौं सूर्यमुखीले लायन वर्ष २०२६/२७ को कार्य शुभारम्भको अवसरमा धादिङमा आयोजना गरेको वृहत् खुला रक्तदान कार्यक्रम अन्तर्गत कुल १११ जनाले रक्तदान गरेका छन् ।
‘One Drop of Humanity, Give Blood, Save Lives‘ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रम दुई स्थानमा सञ्चालन गरिएको थियो । कारागार कार्यालय धादिङ मा रहेका ५८ जना पुरुष र धादिङ अस्पताल परिसर मा ४४ जना पुरुष तथा ९ जना महिला गरी कुल १११ जना रक्तदाताले रक्तदान गरेका हुन् ।
लायन्स क्लब अफ काठमाडौं सूर्यमुखीको आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र, धादिङ को प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रमले जिल्लामा रगतको अभाव न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम) प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । त्यसैगरी लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आई नेपाल का डिपार्टमेन्ट चिफ लायन कृष्णबहादुर पौडेल, रिजन चेयरपर्सन कृष्णप्रसाद ढकाल, जोन चेयरपर्सन लायन बद्री अधिकारी, क्लबका निवर्तमान अध्यक्ष लायन विक्रम विश्वकर्मा, अध्यक्ष लायन राजाराम रिजाल, कारागार कार्यालय धादिङका कारागार प्रशासक इन्द्रबहादुर खतिवडा, नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाका सभापति दुर्लभकुमार तामाङ, कोषाध्यक्ष नारायणकुमार श्रेष्ठ, क्लबका प्रथम उपाध्यक्ष लायन डा. दिनेश रेग्मी लगायत लायन्स क्लबका पदाधिकारी, समाजसेवी तथा रक्तदाताहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
आयोजकका अनुसार मानव जीवन बचाउन आवश्यक पर्ने रगतको सहज उपलब्धतामा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत नियमित रूपमा यस्ता मानवीय सेवामूलक कार्यक्रम सञ्चालन गर्दै जाने क्लबले जनाएको छ ।
