
धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको अन्तिम सूची संशोधन गरेको छ । संशोधित नतिजाअनुसार चितवनमा सम्पन्न महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित घोषणा गरिएका धादिङका कृष्णमान श्रेष्ठ अब केन्द्रीय सदस्यको सूचीबाट हटाइएका छन् ।
रास्वपाका अनुसार ध्रुव थापामगरले आफूले जनजाति क्लस्टरबाट उम्मेदवारी दिएको भए पनि मतपरिणाम सार्वजनिक गर्दा उनको नाम गल्तीवश खस–आर्य क्लस्टर उल्लेख भएको भन्दै सच्याउन आग्रह गरेका थिए । त्यसपछि निर्वाचन परिणाम पुनः परीक्षण गर्दा ध्रुव थापामगरले जनजाति क्लस्टरतर्फ ७९० मत प्राप्त गरेको र कृष्णमान श्रेष्ठले ७८५ मत प्राप्त गरेको पुष्टि भएको हो ।
यसका आधारमा जनजाति क्लस्टरतर्फ ध्रुव थापामगरलाई विजयी घोषणा गर्दै कृष्णमान श्रेष्ठलाई केन्द्रीय सदस्यको सूचीबाट हटाइएको रास्वपाले जनाएको छ ।
यद्यपि धादिङबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हिमेश पन्त र आशिका तामाङको नतिजामा कुनै परिवर्तन गरिएको छैन । हिमेश पन्त १,६२३ मत र आशिका तामाङ १,४३० मतसहित निर्वाचित भएका थिए ।
यसैबीच, रास्वपाको प्रादेशिक केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी पूजा बास्तोलाले मतपरिणाममा त्रुटि भएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएकी थिइन् । आफूभन्दा कम मत प्राप्त गरेका उम्मेदवारलाई विजयी घोषणा गरिएको उनको दाबीलाई आयोगले सदर गरेको छ ।
निर्वाचन आयोगको निर्णयपछि रास्वपाले नतिजा सच्याउँदै गण्डकी प्रदेशतर्फको प्रादेशिक केन्द्रीय सदस्यमा पूजा बास्तोलालाई विजयी घोषणा गरेको छ । यसअघि सो पदमा विजयी घोषित सोम शर्मालाई केन्द्रीय समितिबाट हटाइएको पार्टीले जनाएको छ ।
रास्वपाले महाधिवेशनको मतपरिणाम सार्वजनिक गर्ने क्रममा भएको प्राविधिक त्रुटिका कारण केही पदको नतिजा सच्याउनुपरेको स्पष्ट पारेको छ ।
