कोलोराडो चुनावअघि नेपाली समुदायको आवाज सुने अमेरिकी नेताहरूले

Avatar photo
Dhadingpost
असार १६, २०८३

नातिबाब भट्ट कोलोराडो (अमेरिका) । अमेरिकाको कोलोराडो राज्यमा प्राथमिक निर्वाचनको माहोल चलिरहेका बेला नेपाली समुदाय र शीर्ष डेमोक्रेटिक नेताबीच भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा अध्यागमन नीति, भिसा प्रतिबन्ध, साना व्यवसाय, सार्वजनिक सुरक्षा र घृणाजन्य अपराधजस्ता विषयमा खुला छलफल भएको थियो।

हेल्पिङ ह्यान्ड्स एजुकेशनका अध्यक्ष नारायण श्रेष्ठको नेतृत्वमा नेपाली सांस्कृतिक केन्द्र ‘नेपाली घर’मा आयोजित कार्यक्रममा नेपाली समुदायका प्रतिनिधि, सामाजिक अभियन्ता, व्यवसायी तथा विभिन्न संघ–संस्थाका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सन् २०२६ को कोलोराडो प्राथमिक निर्वाचनलाई लक्षित गर्दै आयोजित कार्यक्रमलाई समुदायको आवाज सुन्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

नेपाली समुदायसँग शीर्ष नेताहरूको संवाद

अन्तरक्रियामा अमेरिकी सिनेटर तथा कोलोराडोका गभर्नर पदका प्रमुख उम्मेदवार माइकल बेनेट, अमेरिकी प्रतिनिधिसभामा कोलोराडोको दोस्रो संसदीय जिल्लाका सदस्य जो नेगुसे, बोल्डर काउन्टीका जिल्ला अभियोजक तथा महान्यायाधिवक्ता पदका उम्मेदवार माइकल डोअर्टी, वेस्टमिन्स्टरकी मेयर क्लारा कार्मेलिया, बोल्डर काउन्टी कमिस्नर मार्टा लोचामिन, सुपेरियर नगरका पूर्वमेयर टिम फोल्सम तथा अन्य स्थानीय जनप्रतिनिधिहरू सहभागी थिए।

त्यसैगरी, एनआरएनए एनसीसी अमेरिका, रकी माउन्टेन फ्रेन्ड्स अफ नेपाल, नेपाली घर, तमु प्ये ल्हु, नेवा खलः, ग्लोबल फिल्म्स, ब्लड डोनर्स अफ अमेरिका, आईएनएलएसलगायत विभिन्न नेपाली सामुदायिक संस्थाका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।

भिसा प्रतिबन्ध र अध्यागमनबारे चासो

कार्यक्रममा एनआरएनए एनसीसी अमेरिकाका महासचिव आर.सी. पन्तले ७५ देशमाथि लागू गरिएको अमेरिकी भिसा प्रतिबन्धका कारण नेपालीसहित लाखौं आप्रवासी परिवार प्रभावित भएको विषय उठाए। उनले यस विषयलाई अमेरिकी सिनेटमा अपेक्षित प्राथमिकता किन नदिइएको भन्ने प्रश्न पनि राखे।

जवाफमा सिनेटर माइकल बेनेटले देश-आधारित भिसा प्रतिबन्धको निरन्तर विरोध गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले नेपाली समुदायले उठाएका विषयलाई अमेरिकी सिनेटमा गम्भीर रूपमा प्रस्तुत गर्ने विश्वास दिलाए।

त्यसैगरी, प्रतिनिधिसभाका सदस्य जो नेगुसेले पनि आप्रवासी समुदायका समस्यालाई प्रतिनिधिसभामा उठाउने र आवश्यक कानुनी पहलका लागि काम गर्ने बताए।

साना व्यवसायीका समस्या उठाइए

साना व्यवसायी विकास त्रिपाठीले ठूला फ्रेन्चाइज ग्यास स्टेशनहरूको विस्तारका कारण स्थानीय सुविधा पसलहरू प्रभावित भएको गुनासो गरे। उनले राज्यभर समान न्यूनतम ज्याला लागू नभएका कारण साना व्यवसायीहरू प्रतिस्पर्धामा कमजोर बनेको धारणा पनि राखे।

यसैबीच, व्यवसायी बसन्त लम्सालले कोलोराडोको ‘स्यान्क्चुअरी सिटी’ नीतिको संरक्षण तथा संघीय प्रशासनका सम्भावित नीतिबाट आप्रवासी समुदायलाई सुरक्षित राख्ने योजनाबारे प्रश्न गरे।

घृणाजन्य अपराधबारे पनि प्रश्न

एनआरएनए एनसीसी अमेरिकाकी सचिव संगीता लामा लामिछाने तथा व्यवसायी पदम विश्वकर्माले विभिन्न जातीय तथा सांस्कृतिक समुदायविरुद्ध बढ्दै गएको घृणाजन्य अपराधप्रति चिन्ता व्यक्त गरे। उनीहरूले यस्ता अपराध नियन्त्रणका लागि उम्मेदवारहरूको स्पष्ट योजना र रणनीतिबारे जानकारी मागे।

यसको जवाफमा सहभागी नेताहरूले सबै समुदायको सुरक्षा सुनिश्चित गर्न कानुनी र नीतिगत पहल गरिने प्रतिबद्धता जनाए।

सबै समुदायको सहभागितामा जोड

कार्यक्रमको समापन गर्दै सिनेटर माइकल बेनेटले अध्यागमन, साना व्यवसायको संरक्षण र सार्वजनिक सुरक्षा कोलोराडोको भविष्यसँग प्रत्यक्ष जोडिएका विषय भएको बताए। उनले सबै समुदायलाई निर्णय प्रक्रियामा समान अवसर र सम्मान सुनिश्चित गर्नुपर्नेमा जोड दिए।

प्रतिनिधिसभाका सदस्य जो नेगुसेले नेपाली समुदाय कोलोराडोको सामाजिक, आर्थिक र सांस्कृतिक विकासको महत्वपूर्ण हिस्सा भएको उल्लेख गर्दै उनीहरूको सहभागिताबिना समावेशी विकास सम्भव नरहेको बताए।

त्यसैगरी, महान्यायाधिवक्ता पदका उम्मेदवार माइकल डोअर्टीले आफू निर्वाचित भए सबै समुदायका लागि कानुनी सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे।

निर्वाचनअघि बढ्दो राजनीतिक सक्रियता

कार्यक्रमको अन्त्यमा हेल्पिङ ह्यान्ड्स एजुकेशनका अध्यक्ष नारायण श्रेष्ठले सहभागी नेता तथा समुदायका सदस्यलाई धन्यवाद ज्ञापन गरे। उनले नेपाली समुदायको लोकतान्त्रिक प्रक्रियाप्रतिको सक्रियता प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी जुन ३० मा हुने प्राथमिक निर्वाचनमा सोचविचार गरेर अनिवार्य मतदान गर्न आग्रह गरे।

सन् २०२६ को कोलोराडो प्राथमिक निर्वाचनको पूर्वसन्ध्यामा आयोजित यो अन्तरक्रियाले नेपाली समुदायको बढ्दो राजनीतिक सहभागिता, आफ्ना अधिकारप्रतिको सचेतना र अमेरिकी राजनीतिमा प्रभावकारी उपस्थिति थप स्पष्ट पारेको सहभागीहरूको भनाइ छ।