धादिङका ओम राज राउत न्युयोर्कको स्केच कमेडीमा मुख्य भूमिकामा

Avatar photo
Dhadingpost
असार ७, २०८३

धादिङ । धादिङका युवा कलाकार ओम राज राउत अहिले अमेरिकाको न्युयोर्क सिटीमा मञ्चन भइरहेको स्केच कमेडी “A Sketch of New York” मा विभिन्न मुख्य भूमिकामा अभिनय गर्दै अन्तर्राष्ट्रिय रंगमञ्चमा नेपाली प्रतिभाको उपस्थिति बलियो बनाइरहेका छन् ।

यस नाटकमा राउतले एउटै प्रस्तुतिभित्र फरक–फरक चरित्र निर्वाह गरिरहेका छन् । तीव्र पात्र परिवर्तन, फरक शैलीका संवाद र हास्य–व्यंग्यप्रधान प्रस्तुति स्केच कमेडीको विशेषता मानिन्छ, जहाँ कलाकारको बहुआयामिक अभिनय क्षमता परीक्षण हुने गर्छ ।

नाटकका लेखक तथा निर्देशक जो डिनोजी र डेरियन डेमारियाले तयार पारेको यस प्रस्तुतिमा कुनै एक मात्र केन्द्रीय पात्र छैन । बरु सम्पूर्ण कलाकारले विभिन्न स्केचमार्फत कहिले मुख्य त कहिले सहायक भूमिकामा देखिँदै न्युयोर्कको व्यस्त शहरी जीवन, कलाकारहरूको संघर्ष, आधुनिक प्रेम सम्बन्ध र कला क्षेत्रका विडम्बनालाई व्यंग्यात्मक ढंगले प्रस्तुत गरेका छन् ।

राउतका अनुसार यस्तो प्रकारको प्रस्तुति कलाकारका लागि चुनौतीपूर्ण भए पनि निकै रोमाञ्चक अनुभव हो । “एउटै साँझमा धेरै पात्रमा रूपान्तरण हुनुपर्ने भएकाले निरन्तर ऊर्जा र तयारी आवश्यक पर्छ, तर यही प्रक्रियाले कलाकारको वास्तविक क्षमता उजागर गर्छ,” उनले बताएका छन् ।

राउत यसअघि पनि अन्तर्राष्ट्रिय रंगमञ्चमा आफ्नो अभिनयबाट चर्चा बटुलिसकेका छन् । उनको एकल नाटक “1953: Race for the Summit” ले न्युयोर्क थिएटर फेस्टिभलमा उत्कृष्ट अभिनेताको मनोनयन प्राप्त गरेको थियो । साथै, सन् २०२३ को एडिनबरा फ्रिन्ज फेस्टिभलमा उक्त नाटकका पाँचवटै प्रदर्शन हाउसफुल भएका थिए, जसले उनको अभिनय यात्रालाई थप उचाइ दिएको थियो ।

उनले ट्राइबेका थिएटर हल, मारियन एन्डरसन थिएटर र अल्फा एनवाइसी थिएटरजस्ता प्रतिष्ठित मञ्चहरूमा समेत अभिनय गरिसकेका छन् । न्युयोर्कको सिटी कलेजबाट ड्रामामा स्नातक गरेका राउत अहिले नेपाली मूलका कलाकारका रूपमा अमेरिकी रंगमञ्चमा निरन्तर सक्रिय छन् ।

धादिङबाट अन्तर्राष्ट्रिय थिएटरसम्मको यात्रा तय गरेका राउतको सफलता नेपाली युवाका लागि प्रेरणादायी बनेको छ । सीमित अवसरका बीच पनि निरन्तर मेहनत, अध्ययन र सिर्जनशीलतामार्फत विश्वस्तरको रंगमञ्चमा आफ्नो पहिचान स्थापित गर्न सकिन्छ भन्ने उदाहरण उनले प्रस्तुत गरेका छन् ।