रास्वपा बागमती प्रदेश अधिवेशन जारी, धादिङबाट ४ जनाको सदस्यमा उम्मेदवारी

Avatar photo
Dhadingpost
जेष्ठ २६, २०८३

धादिङ, असार २६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको प्रथम प्रदेश अधिवेशन हेटौँडामा जारी रहेको छ । अधिवेशनले आगामी कार्यकालका लागि नयाँ प्रदेश कार्यसमिति चयन गर्नेछ ।

अधिवेशन अन्तर्गत प्रदेश कार्यसमितिको सदस्य पदका लागि धादिङबाट चार जनाले उम्मेदवारी दिने तयारी गरेका छन् । सदस्य पदमा विकेश चेपाङ, कपिलशर्मा अर्याल, सागर गौली र ध्रुवकुमार रेग्मी उम्मेदवार बन्न लागेका हुन् ।

निर्वाचन कार्यतालिका अनुसार बिहान साढे ११ बजेदेखि उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम तय गरिएको भए पनि उद्घाटन सत्र लम्बिएकाले मनोनयन प्रक्रिया सुरु हुन सकेको छैन ।

पार्टी स्रोतका अनुसार उद्घाटन कार्यक्रम सम्पन्न भएपछि उम्मेदवारी दर्ता, दाबी–विरोध तथा अन्तिम नामावली प्रकाशनलगायतका निर्वाचन प्रक्रिया अघि बढाइनेछ ।

बागमती प्रदेशका विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूको सहभागितामा भइरहेको अधिवेशनले प्रदेश नेतृत्व चयनसँगै आगामी संगठन विस्तार र सुदृढीकरणका विषयमा समेत छलफल गर्ने जनाएको छ ।

धादिङबाट उम्मेदवारी दिन लागेका चारै जना पार्टीका सक्रिय कार्यकर्ता तथा संगठन निर्माणमा संलग्न व्यक्तित्वका रूपमा परिचित छन् । उनीहरूले प्रदेश समितिमा धादिङको प्रतिनिधित्वलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उम्मेदवारी दिन लागेको बताएका छन् ।