
धादिङ । धादिङको सल्यानटार स्थित बुढीगण्डकी र नेत्रावती नदीको संगमस्थलमा रहेको नृसिंहधाम मा एकमहिने पुरुषोत्तम धार्मिक महामहोत्सव सुरु भएको छ । जेष्ठ १ गतेदेखि सुरु भएको महामहोत्सवको उद्घाटन बागमती प्रदेशका इन्द्र बानियाँ ले शुक्रबार गरेका हुन् ।
धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको नृसिंहधाममा आयोजना गरिएको महामहोत्सवमा श्रीमद्भागवत कथा, राम कथा, शिवमहापुराण कथा, हनुमत कथा तथा श्रीमददेवी भागवत कथा लगायतका दिव्य कथावाचन गरिने आयोजकले जनाएको छ । आयोजकका अनुसार महोत्सव अवधिभर करिब २० लाखभन्दा बढी भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ ।
नृसिंहधामको धार्मिक तथा ऐतिहासिक महत्व
वैदिक सनातन शास्त्रअनुसार भगवान नृसिंहदेवका १२ प्रमुख पीठमध्ये नृसिंहधाम पनि एक मानिन्छ । नेपालमै एक मात्र नृसिंह पीठका रूपमा चिनिने यस धामलाई धार्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण स्थलका रूपमा लिइन्छ ।
शास्त्रीय मान्यताअनुसार नेत्रावती र बुढीगण्डकी नदीलाई क्रमशः “नार सिंह” र “ब्राह्मी” का रूपमा स्कन्द पुराणमा व्याख्या गरिएको छ । भक्त प्रह्लादले तपस्या गर्दा भगवान नृसिंह प्रकट भई दर्शन दिएको स्थल यही क्षेत्र रहेको धार्मिक विश्वास छ । त्यसबेला भगवान नृसिंह प्रकट भएको नदीलाई “नार सिंह” भनिएको र हाल उक्त नदी आँखुखोला नामले परिचित रहेको स्थानीय बताउँछन् ।
नेत्रावती नदी भगवान शिवको आँखाबाट उत्पत्ति भएको भन्ने जनविश्वास समेत रहेको छ । स्फटिक खम्बादेखि आगिन्चोकसम्म फैलिएको क्षेत्रमा भगवान नृसिंह प्रकट भएको स्थल, होलिका दहन गरिएको स्थान तथा नारदमुनिले भक्त प्रह्लादलाई उपदेश दिएको स्थान रहेको धार्मिक कथन पाइन्छ ।
पुरातात्त्विक तथा पर्यटकीय सम्भावना
ऐतिहासिक, पुरातात्त्विक र पौराणिक महत्व बोकेको नृसिंहधाम परिसरमा उत्खननका क्रममा पुराना शिला तथा प्राचीन मुद्रा समेत फेला परेको बताइन्छ । यसले क्षेत्रको ऐतिहासिक महत्वलाई थप पुष्टि गरेको स्थानीयको भनाइ छ ।
धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको यस क्षेत्रको संरक्षण, प्रचारप्रसार तथा प्रवर्द्धनमा त्रिपुरासुन्दरी गाउँपालिका ले विशेष चासो देखाउँदै आएको छ ।
कसरी पुग्ने नृसिंहधाम ?
धादिङबेसी बाट टारीबेसी हुँदै बसमार्फत सल्यानटार सहजै पुग्न सकिन्छ । धादिङबेसीदेखि सल्यानटारसम्मको यात्रा करिब १ घण्टा ४५ मिनेटको हुन्छ । धादिङ–आरुघाट रुटमा चल्ने बसले सल्यानटारको पानीट्याङ्कीसम्म पुर्याउँछ । त्यसपछि नृसिंहधाम पुग्न म्याजिक भ्यान प्रयोग गर्नुपर्ने हुन्छ । म्याजिक भ्यानमार्फत करिब २५ मिनेटको यात्रापछि नृसिंहधाम परिसर पुग्न सकिन्छ ।
