
धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ स्थित चरौँदीबाट स्यादुलतर्फ जाने भित्री सडक खण्डमा अवैध रूपमा सालको काठ ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
साेमबार दिउँसो करिब १ः५५ बजे लु ३ त ८०७८ नम्बरको ट्र्याक्टरमा लोड गरी साल जातको काठ लैजाँदै गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गजुरी र इलाका प्रहरी कार्यालय बेनिघाटबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच उनीहरु पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार ट्र्याक्टरमा तीन थान साल जातको काठ फेला परेको थियो । काठ नापजाँच गर्दा ७२.५१ स्क्वायर फिट रहेको पाइएको जनाइएको छ । प्रहरीले ट्र्याक्टरसहित काठ बरामद गरी ओसारपसारमा संलग्न देखिएका तीन जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा ट्र्याक्टर चालक बेनिघाट रोराङ गाउँपालिका–५ का २३ वर्षीय सुमन परियार, वडा नम्बर ७ का ३८ वर्षीय श्रद्धालाल प्रजा र ३६ वर्षीय शिवलाल प्रजा रहेका छन् ।
पक्राउ परेकामाथि आवश्यक अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय धादिङबेसी पठाइएको प्रहरीले जनाएको छ ।
