बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डको खेल तालिका परिवर्तन

Avatar photo
Dhadingpost
बैशाख २७, २०८३

धादिङ । बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको खेल तालिका परिवर्तन गरिएको छ । धादिङ जिल्ला खेलकुद विकास समितिले शुक्रबार सूचना जारी गर्दै प्रतियोगिताको मिति परिवर्तन गरिएको जानकारी दिएको हो ।

प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेश, हेटौँडाको पत्रअनुसार यसअघि २०८३ जेठ १ गतेदेखि ३ गतेसम्म सञ्चालन हुने तय भएको प्रतियोगिता अब २०८३ जेठ १३ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने भएको छ ।

धादिङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताप सिंह तामाङद्वारा जारी सूचनामा सम्बन्धित टिम व्यवस्थापक, प्रशिक्षक तथा राष्ट्रपति रनिङ शिल्डमा सहभागी खेलाडीहरूलाई जानकारीका लागि सूचना प्रकाशित गरिएको उल्लेख छ ।

गत वर्ष धादिङबाट छनोट भएका ९ जना खेलाडी प्रदेश पार गर्दै केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खेल्न सफल भएका थिए जसमा विवश तामाङ ले स्वर्ण, सृजना श्रेष्ठ (पिङ्की) ले ज्याभलिङ थ्रो मा कास्य  पदक जित्न सफल भएका थिए ।

गत वर्ष भएको बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा भने धादिङले २ स्वर्ण सहित २० पदक जित्न सफल हुँदा सिर्जना श्रेष्ठले ज्यावलिङ्ग थ्रोमा स्वर्ण र काठमाडौंलाई पराजित गर्दै धादिङको छात्रा कबड्डी टिम स्वर्ण हात पारेको थियो । धादिङ छात्र कबड्डी टिम पनि फाईनलमा भक्तपुर ५ अंक स्कोरमा पराजित हुँदा उपविजेता भएको थियो । भने धादिङको छात्र भलिबल टिम तृतीय भएको थियो ।

त्यस अघि २०८० मा धादिङ २ स्वर्ण सहित १४ पदक जित्दै प्रदेशमा छैटौं भएको थियो ।