एडभान्स एकेडेमीमा लोकतान्त्रिक अभ्यास, विद्यार्थी निर्वाचन सम्पन्न

Avatar photo
Dhadingpost
बैशाख २५, २०८३

धादिङ । धादिङबेसीस्थित एडभान्स एकेडेमीमा विभिन्न पदका लागि विद्यार्थी निर्वाचन कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा लोकतान्त्रिक अभ्यास तथा नेतृत्व विकास गर्ने उद्देश्यले आयोजना गरिएको निर्वाचनमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको विद्यालयले जनाएको छ ।

निर्वाचनअन्तर्गत स्कुल कप्तान, स्कुल उपकप्तान, सदन क्याप्टेन, सदन उपकप्तान, कक्षागत क्याप्टेन तथा उपकप्तानका साथै Action Creation of Advance (ACCA) र युवा रेडक्रस सर्कलका पदाधिकारी चयनका लागि मतदान कार्यक्रम सञ्चालन गरिएको थियो ।

कार्यक्रममा कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूले सहभागी भई आफ्नो मताधिकार प्रयोग गरेका थिए । विद्यालय परिसरमा निर्वाचनलाई व्यवस्थित, मर्यादित तथा शान्तिपूर्ण ढंगले सम्पन्न गरिएको जनाइएको छ ।

मतदान अधिकृत तथा विद्यालयका उप–प्रधानाध्यापक प्रकाश कुमार श्रेष्ठले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई वास्तविक निर्वाचन प्रक्रियाबारे व्यवहारिक ज्ञान दिन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँका अनुसार विद्यालयले हरेक वर्ष मतदान, उम्मेदवारी दर्ता, प्रचारप्रसार तथा मतगणनासम्बन्धी प्रक्रिया बुझाउने उद्देश्यले निर्वाचन कार्यक्रम सञ्चालन गर्दै आएको छ । निर्वाचनको मत परिणाम आगामी सोमबार सार्वजनिक गरिने उहाँले जानकारी दिनुभयो ।

विद्यालयका प्रिन्सिपल भिम बहादुर श्रेष्ठले विद्यालयस्तरमै लोकतान्त्रिक अभ्यास गराउनु आवश्यक रहेको उल्लेख गर्दै विद्यार्थीहरूले सानै उमेरदेखि निर्वाचन प्रक्रिया, नेतृत्व छनोट, जिम्मेवारीबोध तथा नागरिक कर्तव्यबारे जानकारी पाए भविष्यमा सक्षम, जिम्मेवार र सचेत नागरिक बन्न सहयोग पुग्ने बताउनुभयो ।

उहाँले विद्यालय शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नभई व्यवहारिक ज्ञान, अनुशासन, नेतृत्व क्षमता तथा सामाजिक उत्तरदायित्व विकाससँग पनि जोडिएको धारणा व्यक्त गर्नुभयो ।